नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
हात्तीको स्वास्थ्य शिविर

हात्तीको स्वास्थ्य शिविर

चितवन, १२ फागुन | प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको छ ।
 
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार यसै हप्ता शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । अर्को महिना गैँडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि नै शिविर गर्न लागिएको हो । शिविरमा हात्तीको विस्तृत स्वास्थ्य परीक्षण हुने उहाँले बताउनुभयो । हात्तीलाई प्रत्यक्ष हेरेर अवस्थाको बारेमा बुझिँदै छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरु परीक्षणमा सहभागी हुनेछन् । कतिपय हात्ती मात्तिएर मानवीय क्षतिसमेत हुने गरेको भन्दै उहाँले त्यसको पूर्वावस्थाको बारेमा पनि अध्ययन गरिने जानकारी दिनुभयो ।
 
यसैक्रममा ती हात्तीहरुलाई जुकाको औषधिसमेत खुवाइने छ । निकुञ्जको मरेका हात्तीमा क्षयरोगसमेत देखिएपछि अन्य हात्तीको परीक्षणका लागि नमूना लिएर राखिएको छ । ती नमूना काठमाडौँ पठाइने उहाँले बताउनुभयो ।  
 
चालु आर्थिक वर्षको हालसम्म निकुञ्जमा पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेका हुन् ।
 
पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टालाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको छ । हाल निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । छ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यहीँ काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् ।
 
त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।

२४ Feb २०२१ , ११:२७am
हाम्रो आवाज