नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
प्रदेश सरकारद्वारा वार्षिक प्रगति विवरण सार्वजनिक

प्रदेश सरकारद्वारा वार्षिक प्रगति विवरण सार्वजनिक

सर्लाही, २७ फागुन | आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो जानकारी गराएको हो ।

प्रदेशमा कालोपत्र सडक ५०।९५ किलोमिटर, पक्की सडक ढलान ७४।९० किलोमिटर र ग्राभेल सडक १७०।१७ किलोमिटर निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । सोही क्रममा ३० वटा पुल निर्माणको क्रममा रहेको, ५।५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९।८१ किलोमिटर नयाँ कच्ची सडकको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । नीति तथा कार्यक्रममा रहेका १० वटा झोलुङ्गे पुलमध्ये तीनवटा झोलुङ्गेको निर्माण कार्य सम्पन्न भएको प्रदेश नं २ को भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बताउनुभयो ।

सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन गरिएको र प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल ट्युबवेल निर्माणबाट प्रदेशको १६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको मन्त्री सोनलले बताउनुभयो । सो अवधिमा २४० वटा डिप ट्युबवेल तथा ३३ वटा पावर ड्रिल ट्युबवेल निर्माण, प्रदेशको करिब पाँच हजार ४३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट एक हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ । खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको शुरूआत भएको छ भने ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको मन्त्रालयले बताएको छ । 

मन्त्री सोनलका अनुसार जनता आवासतर्फ करिब चार हजार ६५९ घर निर्माणको सम्झौता भएकामा हालसम्म करिब दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको छ । प्रदेश परिवहन सञ्चालन गरिने प्रदेश नं २ सरकारद्वारा फागुन महिनाभित्रै प्रदेश परिवहन सञ्चालन गर्ने गृहकार्य भइरहेको मन्त्री सोनलले बताउनुभयो ।

प्रदेश परिवहन सञ्चालनका लागि प्रदेश सरकारले रु तीन करोड नौ लाख ८२ हजारमा पाँच वटा बस खरिद गरिसकेको छ । मन्त्री सोनलले प्रदेश परिवहन सञ्चालन सन्दर्भमा कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले परिवहन सञ्चालक समिति गठन भइसकेपछि समितिले परिवहन सेवाको भाडादर निर्धारण गर्ने बताउँदै सरल, सुलभ, सुरक्षित र व्यवस्थितरूपमा सञ्चालन गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने बताउनुभएको छ ।

११ Mar २०२१ , १२:१४pm
हाम्रो आवाज