नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
उपभोक्ता अधिकार : सशक्त कानून, फितलो कार्यान्वयन

उपभोक्ता अधिकार : सशक्त कानून, फितलो कार्यान्वयन


पोखरा, ३ चैत उपभोक्ता अधिकारका बारेमा सशक्त कानून भए पनि त्यसको कार्यान्वयन भने फितलो भएको पोखरामा आयोजित एक कार्यक्रमा सहभागीले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उपभोक्ता मञ्च गण्डकीद्वारा सोमबार पोखरामा आयोजित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागीले नीति, नियम र कानून भए पनि व्यवहारमा नदेखिँदा उपभोक्ता ठगिने प्रवृत्ति बढिरहेको  गुनासो गरेका हुन् ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले उपभोक्ता अधिकारका लागि सबैले आ–आफ्नो स्थानबाट प्रयास गरे सफल हुने जनाउँदै स्थानीय सरकारको भूमिका अझ बढी हुने बताउनुभयो । उहाँले राष्ट्रबाट के पाएँ नभई राष्ट्रलाई के दिएँ भन्ने सामूहिक सोचका साथ अगाडि बढ्न सके कालोबजारीबाट उपभोक्ता ठगिन नपर्ने बताउनुभयो । राजनीतिक दलहरुले घोषणापत्रमै उपभोक्ता अधिकारलाई उल्लेख गरेर कार्यान्वय गर्नुपर्नेमा उहाँको जोड थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्माले उपभोक्ता सम्बन्धित ऐन, कानूनको कार्यान्वयनको खाँचो औँल्याउनुभयो । उहाँले सरोकारवाला सबैले यथार्थको धरातलमा उभिएर गल्ती कमजोरी पत्ता लगाउनुपर्ने उल्लेख गर्दै आफूअनुकूलताको व्यवहार मात्र नदेखाई सबैको हितका लागि काम गर्नुपर्ने भनाइ राख्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सबैले सर्वप्रथम आफू उपभोक्ता हुँ भन्ने कुरा सम्झेर आफ्नो दायित्व बहन गर्नुपर्ने बताउनुभयो । उहाँले उपभोक्ता सचेत हुँदै जाँदा केही सकारात्मक नतिजा आए पनि अझै बजारमा उपभोक्ता र विक्रेताबीच थुप्रै समस्या रहेको औँल्याउनुभयो । उहाँले नागरिक सचेत हुँदै गए समस्याको पहिचान हुने र समाधानमा सहज हुने धारणा राख्नुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख शिवजी बरालले उपभोक्तालाई विद्यमान कानूनको बारेमा जानकारी लिएर सचेत हुन आग्रह गनुभयो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्यले उपभोत्ता अधिकारका लागि संविधानले नै धारा ३३ र ४४ मा प्रष्ट पारेको उल्लेख गर्दै गण्डकी प्रदेशमा प्रदेश बजार अनुगमन नियमावलीसमेत बनेको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरमा ३३ वटै वडामा जनप्रतिनिधि र टोल विकासका संस्थाका प्रतिनिधिका लागि सचेतना कार्यक्रम भइरहेको छ ।

उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सोच्न सके उपभोक्ता अधिकार संरक्षण हुने धारणा राख्नुभयो । उहाँले गलत काम गर्नेलाई कुनै पनि बहानामा संरक्षण गर्न नहुने जनाउँदै उपभोक्ताले न्याय पाउने संयन्त्रको गठन आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ता अधिकार संरक्षण ऐन, २०७५ लागू भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा र अधिकारका बारेमा जानकार नहुँदा उपभोक्ता ठगिएको बताउनुभयो । उहाँले कालोबजारी गर्ने विक्रेतालाई निरुत्साहित गर्ने उपभोक्ता स्वयं सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उपभोक्ता मञ्च गण्डकीका उपाध्यक्ष रमेश पौडेलले उपभोक्ता अधिकारका विषयमा विश्वमा सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट पारित भएको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेका सुरक्षा, सूचना, छनोट र सुनुवाइ, गुणस्तरीय चार अधिकारको विषयमा चर्चा गर्नुभएको थियो । मञ्चका कास्कीका अध्यक्ष राजेन्द्र लिगलले वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका बारेमा उपभोक्ता संरक्षण ऐन, २०७५ मा स्पष्ट भए पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले उपभोक्तालाई छनोटको अधिकार भए पनि ग्रामीण भेगका उपभोक्ताले म्याद गुज्रिएको कमसल सामान उपभोग गर्न बाध्य भएको, पसलमा मूल्यसूची नभएको र एउटै सामान फरक–फरक मूल्यसूची भएको, खाद्य पदार्थमा अखाद्य सामग्री मिसाइएको, बजार अनुगमन प्रभावकारी हुन नसकेको, कालोबजारी गर्नेहरू कानूनको दायरामा आउन नसकेकोलगायत गुनासो गरेका थिए । सहभागीले उपभोक्ता अदालत गठन गरी टास्कफोर्समार्फत २४ घण्टादेखि तीन दिनभित्र उजुरीको सुनुवाइ हुने गरी काम गर्नेुपर्ने सुझावसमेत दिएका थिए ।

१६ Mar २०२१ , १२:०९pm
हाम्रो आवाज