नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
प्रदेश १ का कोभिड विशेष अस्पतालको क्षमता ३ सय ९५ बेड, अन्यत्र जस्तो छैन हाहाकार

प्रदेश १ का कोभिड विशेष अस्पतालको क्षमता ३ सय ९५ बेड, अन्यत्र जस्तो छैन हाहाकार

बैशाख १८, काठमाडौं । कोभिड–१९ संक्रमितको उपचार गर्ने  प्रदेश १ का अधिकांश सरकारी र नीजि अस्पतालमा दिनहुँ संक्रमित थपिने क्रम बढेसँगै अस्पतालहरुमा बिरामीको चाप बढेको छ। तर प्रदेशका अस्पतालमा अहिलेसम्म बेड नभएर राजधानी काठमाडौँ लगायत पश्चिमी जिल्लाको जस्ता अवस्था भने रहेको छैन ।

अहिलेसम्म अस्पतालहरुले जटिल अवस्थामा पुगेका अथवा अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई प्राथमिकता दिई भर्ना लिने गरेका छन् ।
प्रदेशमा सरकारी स्तरबाट विराटनगरमा कोभिड १९ उपचार केन्द्र,सुनसरीको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको प्रादेशिक मेची अस्पतालमा कोभिडको छुट्टै अस्पताल संचालनमा रहेका छन् ।


त्यसैगरी निजीस्तरमा झापाको बिएण्डसी अस्पताल, विराटनगरका नोबेल मेडिकल कलेज, न्यूरो अस्पताल र बुढीगंगामा रहेको विराट मेडिकल कलेजले छुट्टै कोभिड युनिट संचालन गरी संक्रमितको उपचार गदै आएका छन् ।


सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा संक्रमितका लागि ७६ बेड आईसियू, ४७ भेन्टिलेटर, अक्सिजन चाहिने संक्रमितलाई राखिने ३३ एचडीयू  र जनरल गरी ३ सय ९५ बेडको व्यवस्था छ । 

शनिबार विहानसम्म अस्पतालमा भर्ना भएका १ सय ६७ मध्ये ३६ जना आईसियूमा र ६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार आईसीयूमा एक, भेन्टिलेटरमा ३ र अन्य बेडमा गरी ३६ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका विज्ञ डा रवीन्द्र निरौलाका संक्रमित भएर भर्ना हुने क्रम जारी रहेको छ ।

उनीहरुको कोसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, न्यूरो कार्डियो अस्पताल र बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

 मन्त्रालयका अनुसार प्रदेशभर हाल १ हजार ९ सय ७४ जना होम आइसोलेसनमा छन् । संस्थागत, घर र अन्य खाले आइसोलेसनमा बस्नेको संख्या २ हजार १ सय ४१ पुगेको छ ।

 

एक हप्तामा थपिए १६ सय बढी संक्रमित
गएको पछिल्लो एक हप्तामा प्रदेशमा १ हजार ६ सय ८ संक्रमित थपिएका छन् । सो अवधिमा ५ हजार ४ सय २ जनाले परीक्षण गराएको १ हजार ६ सय ८ संक्रमित थपिएका हुनु । सामाजिक विकास मन्त्रालय एक हप्तामा थपिनेको दर २९ प्रतिशत नाघेको बताएको छ ।

कोरोनाको दोश्रो लहरमा प्रदेश राजधानी समेत रहेको जिल्ला मोरङ, सुनसरी र झापा सबैभन्दा बढी प्रभावित छन् । कोरोना भाइरसको दोस्रो चरण फैलिएयता शुक्रबारसम्म मोरङमा १ हजार १ सय ५२ , सुनसरीमा ३ सय ७७ र झापामा ३ सय ४४ संक्रमित छन् । प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४१ पुगेको छ ।

युवा उमेर समुहमा संक्रमणको दर उच्च

प्रदेश १ मा कोराना संक्रमणको दर युवा उमेर समुहमा बढी देखिएको छ ।
प्रदेशमा २१ देखि ४० वर्ष उमेर समूहमा संक्रमण बढी देखिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मन्त्रालयको  तथ्यांकलाई हेर्दा २१ देखि ३० उमेर समूहका २६.१५ प्रतिशत र ३१ देखि ४० वर्षका २३.७३ प्रतिशतमा संक्रमण देखिन्छ । सबैभन्दा कम संक्रमण १० वर्ष उमेर समूहभित्र २.४१ प्रतिशत र ७१ उमेर नाघेकामा मात्र ४.४० प्रतिशत छ ।

१ May २०२१ , ४:०६pm
हाम्रो आवाज