नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
एमालेको दुःख : कार्यदल बनाउने, थन्क्याउने !

एमालेको दुःख : कार्यदल बनाउने, थन्क्याउने !

जेठ १, काठमाडौँ । सत्तारुढ नेकपा एमालेभित्रको कचल्टिँदो विवाद समाधानका लागि ठोस प्रस्ताव तयार गर्न कार्यदल गठन हुने भएको छ । केपी ओली पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार भएको भन्दै त्यसको कार्यान्वयनका लागि कार्यदल बनाउन लागिएको हो ।

विगतको अभ्यास हेर्ने हो भने कार्यदलको प्रतिवेदन र सुझावलाई अध्यक्ष केपी शर्मा ओलीले नै कार्यान्वयन गर्ने गरेको पाइँदैन । दृष्टान्तका लागि– एमसीसी सम्बन्धी कार्यदलको रिपोर्ट होस् या गत भदौमा पार्टीभित्रको विवाद समाधानका लागि स्थायी कमिटीमा बुझाइएको कार्यदलको प्रतिवेदन नै किन नहोस् । 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफलमा १० सदस्यीय कार्यदल बनाउने र त्यसैको सुझावका आधारमा पार्टीभित्रको विवाद सुल्झाउने सहमति भएको थियो ।

शीर्ष नेताले वार्ता गरेको भोलिपल्ट शुक्रबार साँझ सिंहदरबारमा दुई पक्षका नेताहरुले तीन घण्टासम्म सामुहिक वार्ता गरे । सो वार्तामा अध्यक्ष ओली पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन तयार रहेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

फुटको डिलमा पुगेको एमालेमा पछिल्लो प्रयासले पार्टीका कतिपय नेता–कार्यकर्तालाई विभाजन टर्यो भन्ने लागे पनि कतिपयले चाहिँ यसलाई विवाद पछाडि धकेल्ने चालबाजीका रुपमा बुझेका छन् ।

ओली र माधव पक्षका नेताहरुले सहमति भएको बताए पनि कार्यदलको औपचारिक घोषणा हुन बाँकी छ । दुवै पक्षका नेताहरुका अनुसार कार्यदलमा ओली समुहका सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेललाई प्रस्ताव गरिएको छ । ओली समूहबाट २ जना थप्नै बाँकी छ । त्यस्तै माधव नेपाल समूहबाट कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहने तय भए पनि एक जनाको नाम टुंगो लागेको छैन । कार्यदलको अन्तिम नामावली पछि टुंगो लाग्ने शुक्रबारको बैठकपछि नेताहरुले बताएका छन् ।

अहिले कार्यदलको अवधारणा मात्रै बनेकाले त्यसका कार्यभार के–के हुने र कसरी काम सुरु गर्ने टुंगो लागि नसकेको कार्यदलमा प्रस्तावित सदस्य गोकर्ण विष्ट बताउँछन् । ‘कार्यदलले औपचारिकता पाउनुपर्ने र कार्यादेश बन्नुपर्ने हुन्छ । त्यसैले अहिले नै कार्यदल यसरी अघि बढ्छ भनेर भन्न हतारो होला’, नेता विष्टको भनाइ छ ।

त्यस्तै ओली निकट नेता सुवास नेम्वाङले कार्यदलको म्यान्डेटबारे चाँडै पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्ने प्रतिक्रिया दिए । ‘कार्यदल बनाउने भन्नेमा दुई नेता सहमत हुनुभएको छ । अब बृहत छलफलपछि कसरी जाने भन्ने टुंगो लाग्छ’, नेम्वाङको भनाइ छ ।

नेकपा हुँदै एमालेमा पनि कार्यदल

एमालेमा मात्रै होइन, यसअघि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा पनि पार्टीमा देखिएका समस्या समाधान गर्न कार्यदल बनेका थिए । नेता विष्णु पौडेल र रामबहादुर थापाको नेतृत्वमा दुईवटा कार्यदल बनेका थिए । ती दुवै कार्यदलले मिहिनेत गरेर प्रतिवेदन तयार पारे पनि कार्यदलको सुझावलाई कार्यान्वयन गर्न नेतृत्व तहले नै अनिच्छा प्रकट गर्दा पटक–पटक विवाद दोहरिरह्यो ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि गत भदौ महिनामा नेता विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो । जसले पार्टीभित्रको विवाद समाधानको सूत्र पहिल्याउने र सोही अनुसार विवाद समाधान गर्ने भनिएको थियो ।

कार्यदलको सदस्यमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । उक्त कार्यदलले झण्डै एक महिना लगाएर सर्वसम्मतिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न अध्यक्ष ओली तयार नभएपछि नेकपाको विवाद थप चुलिँदै गयो र पार्टी एकता नै भंग भयो ।

त्योभन्दा अघि नेकपाको एकता टुंग्याउन रामबहादुर थापाको नेतृत्वमा एक कार्यदल बनेको थियो, जसमा विष्णु पौडेल पनि थिए । नेकपामा अड्किएको एकता प्रक्रियालाई टुंगोमा पु¥याउन कार्यदल गठन गरिएको भए पनि कार्यदलभित्रै विवाद हुँदा पार्टी एकता प्रक्रिया नै लामो समयसम्म अड्कियो । त्यसपछि कार्यदलले प्रतिवेदनलाई पूर्णता नै नदिई बुझायो ।

सो कार्यदलको अधुरो प्रतिवेदनको सुझावअनुसार त्यसबेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश मुख्यमन्त्री भएकालाई पनि प्रदेश कमिटीको जिम्मा दिएको भन्दै सच्याउनुपर्ने  अडान लिएका थिए । त्यहीकारण कार्यदलले अनिर्णित भएर अधुरै प्रतिवेदन बुझाएको हो । माओवादीतर्फ पनि बादलले आफू निकटकालाई मात्र जिम्मेवारी दिएको भनेर अर्को पक्षले विरोध गरेको थियो ।

एमसीसी कार्यदलको प्रतिवेदन पनि कार्यान्वयन भएन

पार्टी एकीकृत भएकै बेला २०७६ सालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० का विषयमा अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनेको थियो ।

सो कार्यदलमा रहेका खनाल, भीम रावल र प्रदीप ज्ञवाली तीनैजना अहिले एमालेमै छन् । तर, उनीहरुले बुझाएको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीले रुचाएका छैनन् । उनी एमसीसी जस्ताको त्यस्तै पारित गर्न चाहन्छन् ।  

एमसीसी अध्ययनसम्बन्धी कार्यदलले २०७६ फागुन ९ गते केपी ओली र प्रचण्डलाई बुझाएको प्रतिवेदनमा एमसीसीका केही बुँदाहरु संशोधन गरेर मात्रै  संसदबाट अनुमोदन गर्नुपर्ने सुझाव दिएको थियो । सो कार्यदलको सुझाव अहिलेसम्म अलपत्र अवस्थामा छ ।

कार्यदलबारे कति विश्वस्त छन् एमालेजन ?

समान्यतया कम्युनिस्ट पार्टीमा पार्टीभित्रको विवाद मिलाउन पार्टी कमिटीमै छलफल गरेर टुंग्याउने विश्वव्यापी मान्यता छ ।

‘केही वर्षअघिसम्म पनि नेपालका कम्युनिस्ट पार्टीमा पार्टीभित्र कुनै विवाद आयो भने नेताहरु बसेर ल यसो गरौं भनेर छलफलबाट मिलाउने गरे पनि कार्यदल नै बनाएर मेरो पक्षबाट यति र तेरो पक्षबाट यति भनेर भनेको थाहा छैन’, माधव नेपाल समूह छाडेर केपी ओली कित्तामा उभिएका विष्णु रिजालको भनाइ छ ।

यद्यपि पार्टीलाई संकटबाट बचाउने एउटा उपायका रुपमा कार्यदललाई  लिन सकिनेमा भने रिजाल विश्वस्त छन् । ‘पार्टीलाई संकटबाट बचाउने उपायका रुपमा अहिलेको कार्यदलको प्रस्ताव आएको हो । सबै विषय एकै दिन समाधान गर्न र शीर्ष नेता बसेर निर्क्योल गर्न मुस्किल हुन्छ’, रिजाल भन्छन्, ‘त्यस आधारमा दोस्रो तहका नेताहरु बसेर एउटा प्रस्ताव कमिटी समक्ष लैजाने कुरालाई सकारात्मक मान्नुपर्छ ।’

पार्टी एकता जोगाउन निर्णायक भूमिका शीर्ष नेताकै हुने भए पनि एमालेलाई अहिलेको अवस्थामा टिकाउन दोस्रो तहका नेताको पनि ठूलो भूमिका रहेको रिजालको भनाइ छ ।

‘दोस्रो तहका नेताहरुले विभिन्न औपचारिक–अनौपचारिक कुरा गरेर जुन वातावरण बनाउनुभएको छ, त्यो वातावरणलाई कार्यरुपमा रुपान्तरण गर्ने जिम्मेवारी पनि उहाँहरुले नै लिँदा बढी व्यवहारिक हुनसक्छ’, रिजाल भन्छन्, ‘यसअघि धेरै हन्डर र ठक्कर खाएर यो निष्कर्षमा हामी पुगेका हौं । एक अर्कामा गर्न सक्ने सार्वजनिक रुपमै गालीगलौज, आरोप–प्रत्यारोप गरेकै हौं । अन्तिममा केही बाँकी नराखेर आफ्नै टाउका ठोक्किएर टटुल्का उठेपछि फेरि एकतामा फर्किएका हौं । त्यसैले मेरो विचारमा अरुबेला जस्तो नभई कार्यदलले उचित निकास निकाल्छ भन्ने लाग्छ ।’​

​माधव पक्षका अर्का केन्द्रीय सदस्य ठाकुर गैरे पार्टीको समस्या समाधान गर्न प्रस्ताव गरिएको कार्यदलले तलसम्मका कमिटीलाई जेठ २ लाई टेकेर सबै संगठनहरुको समायोजन र परिचालन गर्न सक्ने प्रस्ताव तयार गरेमात्रै सार्थक परिणाम आउने बताउँछन् ।

पार्टीका सबै नेता कार्यकर्ताका बीचमा कमरेड्ली सम्बन्ध स्थापित गर्ने वातावरण कसरी बनाउने भन्ने महत्वपूर्ण कुरा रहेको गैरे बताउँछन् । ‘त्यसो गर्न माथिदेखि तलसम्म एउटै मापदण्ड बनाएर लागु गर्ने अवस्था भयो भने कार्यदलको सार्थकता हुन्छ’, उनले रातोपाटीसँग भने, ‘कार्यदल पार्टी कमिटी होइन । टीओआरसहित निश्चित काम गर्न अर्थात आवश्यक निर्णय गर्न तयारी गर्ने विषयलाई कार्यदल भनेर बझ्नुपर्छ । तर, हामीकहाँ कार्यदल बनेपछि यो कार्यदल नै कमिटी हो भनेर बुझ्ने गरेको पाइन्छ ।’

पार्टीभित्र संगठनात्मक पद्दति भत्किने, विचारधारत्मक काम पनि नहुने भएकाले अराजकता फैलने, पार्टी कमिटी एवं संस्थागत जीवन र सामूहिकता समाप्त हुने गरेकाले समस्या सिर्जना हुने गरेको गैरेले बताए ।

‘विगतमा बनाएका कार्यदलले दिएका सुझाव कार्यान्वयन नभएका उदाहरण पनि छन् अब त्यस्तो हुनुहुँदैन’ गैरेले भने, ‘सहमतिका नाममा कार्यदल बनाउने र कुनैपनि निर्णय हुन नदिन माथिबाटै निर्देशित गर्ने कुरा विगतमा हामीले भोगेका छौं । कार्यदलले स्वतन्त्रतापूर्वक टीओआरबमोजिम प्रस्ताव गर्ने र त्यसको सुझाव कमिटीमा छलफल गरेर निर्णयमा जाने बाटोमा हिँड्नुपर्छ’, 

एमालेका अर्का युवा नेता राजेन्द्रकुमार राई पनि कार्यदल बनाउनु र पार्टीभित्र समाधान खोज्ने प्रयासलाई सकारात्मक नै भन्छन् । तर, कार्यदललाई पत्याइहाल्न भने नसकिने उनले प्रतिक्रिया दिए ।

‘यो राम्रो हो, तर कार्यदलबाट समाधान हुन्छ भन्नेमा विश्वास गर्न सकिँदैन’ राईले रातोपाटीसँग भने, ‘अल्मल्याउने र समस्या अलि पर धकेल्ने मात्रै हो भन्ने मेरो व्यक्तिगत बुझाइ छ । यदि कार्यदलको सुझावका आधारमा समस्या समाधान भयो भने आठौं आश्चर्यका रुपमा बुझे हुन्छ ।’

१५ May २०२१ , १:२२pm
हाम्रो आवाज