नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
आगामी आवका लागि कामपाको नीति कार्यक्रम ३ गते

आगामी आवका लागि कामपाको नीति कार्यक्रम ३ गते

काठमाडौँ, १ असार । काठमाडौँ महानगरपालिकाले  आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीबार प्रस्तुत गर्ने भएको छ । चालु आवमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने कार्य मुख्यरूपमा समेटिएका छन् ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, “चालु आवमा सञ्चालनमा रहेका तर विभिन्न कारणले गर्दा पूरा हुन नसकेका आयोजना पूरा गर्ने विषय पनि नीति कार्यक्रमको मुख्य विषय रहेको छ । त्यसैगरी कोरोनाले गर्दा आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पर्न गएको  समस्यालाई सहजीकरण गर्ने कार्य पनि प्रमुखरूपमा कार्यक्रममा समावेश भएको छ । असार ३ गते नीति कार्यक्रम ल्याउनका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ६१औँ कार्यपालिका बैठक सम्पन्न भइसकेको छ ।

प्रमुख शाक्यले आउँदो वर्षका लागि गर्नुपर्ने कामलाई योजनाका रूपमा सङ्कलन गरी वडा समितिका बैठकबाट प्राथमिकीकरण गरेर पठाउन ३२ वटै वडाका वडाध्यक्षलाई आग्रह गर्नुभएको छ । चालु आवमा पनि कोरोना महामारी रहेकाले नीति कार्यक्रम र बजेट नै महामारी नियन्त्रण र यसले पारेको समस्या समाधानमा केन्द्रित रहेको थियो ।चालु आवका लागि कामपाले रु १५ अर्ब ५० करोडको बजेट विनियोजन गरेको थियो । सोमध्ये भौतिक पूर्वाधार क्षेत्रमा रु तीन अर्ब ९५ करोड रहेको थियो । अहिलेसम्ममा पूर्वाधार क्षेत्रको २५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
 

१५ Jun २०२१ , १०:३६am
हाम्रो आवाज