नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
तराईका बस्ती डुबानमा, पहाडका सडक अवरुद्ध

तराईका बस्ती डुबानमा, पहाडका सडक अवरुद्ध

रुपन्देही असार २ । तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ ।

लगातारको वर्षापछि रुपन्देहीको पूर्वपश्चिम राजमार्गस्थित देवदहमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएर मंगलबार बिहानदेखि यातायात अवरुद्ध भएको छ । उक्त राजमार्गमा अझैसम्म यातायात सञ्चालनमा आउन सकेको छैन ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बर विकले सिद्धार्थ राजमार्ग र पहाडी जिल्ला सदरमुकाम जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध भएको बताए । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।

वर्षाका कारण पाल्पा–रिडी, पाल्पा–राम्दी, पाल्पा–आर्यभञ्जाङसहित गाउँ जोड्ने सडक अवरुद्ध भएको छ । यस्तै, गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार सन्धिखर्क–३, फुदबाङमा पहिरो गएको छ । प्युठान–भालुवाङ सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको छ । गुल्मी–रिडी–तम्घास सडक पनि पहिरोका कारण अवरुद्ध छ ।

तिनाउमा नदीमा आएको बाढीले बुटवलमा ११ घर विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले तिनाउको बाढी बस्तीमै पसेपछि बुटवल–११ पवित्रानगरका ११ परिवारलाई अन्यत्र सारिएको बताए ।

पाल्पाको तिनाउ गाउँपालिकामा पनि केही परिवार विस्थापित हुन पुगेको स्थानीय विष्णु पाण्डेले बताए । उता, दाङ देउखुरीको राप्ती नदीमा फसेका चार जनालाई उद्धार गरिएको छ । मंगलबारदेखि फसेका उनीहरुलाई विपत ब्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले बुधबार उद्धार गरेको हो ।

१६ Jun २०२१ , ३:३०pm
हाम्रो आवाज