नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
२४ घरपरिवार विस्थापित

२४ घरपरिवार विस्थापित

सिमकोट, ७ असार । अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिराले २४ घरमा क्षति पु¥याएको छ । सिमकोट गाउँपालिका–३ मा पहिराले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताउनुभयो । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उहाँले जानकारी दिनुभयो ।

सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्णदेखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिनुभयो । भत्किएका घरका ७० कोठामा पूर्ण रुपमा क्षति पुगेको छ । पाँच घर भत्केर कामै नलाग्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । 

घर भत्किएपछि उक्त घरपरिवार छिमेकी र त्रिपालमा विस्थापित भएको प्रहरीले जनाएको छ । यही असार ३ देखि ५ गतेसम्म लगातार परेको वर्षाको कारण क्षति पुगेको हो । प्रहरी चौकीभन्दा क्षति पुगेका घर टाढा रहेका कारण प्रहरी मुचुल्का तयार गर्न र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ । क्षति भएकाका लागि राहतको व्यवस्था हुन सकेको छैन । बाढी पहिराले भएका घरबाहेक अन्य थुप्रै ठाउँमा पहिरो खनिएको छ । लगातार वर्षा भइरहेका कारण सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

२१ Jun २०२१ , ४:५१pm
हाम्रो आवाज