नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
प्रदेश २ मा बजेट खर्च सुस्त

प्रदेश २ मा बजेट खर्च सुस्त

असार ८, काठमाडौँ । प्रदेश नम्बर २ सरकारले चालु आर्थिक वर्षको ११ महिनासम्ममा ३१।४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठ मसान्तसम्ममा चालुतर्फ ३४।९ प्रतिशत र पुँजीगत तर्फ २९।२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोज कुमार झाले जानकारी दिए ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷७८ को ११ महिनामा १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामले जनाएको छ । चालुतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये ११ महिनाको अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ अर्थात् ३४।९ प्रतिशत खर्च गर्न सकेको जनाइएको छ ।


त्यसैगरी पुँजीगततर्फ १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकोमा प्रदेश सरकारले ५ अर्ब ६८ करोड ६५ लाख अर्थात २९।२३ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।


चालु आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको जनाइएको छ । यस मन्त्रालयले ४१।१४ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामको तथ्याङ्कमा उल्लेख छ । चालुतर्फ ३५ करोड ६० लाख ८१ हजार रुपैयाँ र पुँजीगत तर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको जनाइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सबैभन्दा कम अर्थात १३।८ प्रतिशत बजेट खर्च गर्न  सकेको छ । चालु आर्थिक वर्षको ११ महिनामा यस मन्त्रालयले चालुतर्फ ३४ करोड १० लाख ६१ हजार र पुँजीगत तर्फ ११ करोड १४ लाख ८४ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामले जनाएको छ ।

त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले कुल बजेटको ३६।३५ प्रतिशत बजेट खर्च गरेको छ । यस मन्त्रालयले चालुतर्फ ७ करोड ६ लाख ८६ हजार रुपैयाँ र पुँजीगततर्फ १ करोड ८० लाख १० हजार रुपैयाँ बजेट खर्च गरेको जनाइएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ महिनाको अवधिमा ३२।८ प्रतिशत बजेट खर्च गरेको जनाइएको छ । चालुतर्फ ६६ करोड ४३ लाख ४८ हजार रुपैयाँ र पुँजीगत तर्फ ४० करोड ५४ लाख ६० हजार रुपैयाँ गरी १ अर्ब ६ करोड ९८ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले साउन देखि जेठसम्ममा चालु आर्थिक वर्ष तर्फ १ अर्ब ५२ करोड २१ लाख रुपैयाँ र पुँजीगत तर्फ ५८ करोड ४ लाख १ हजार रुपैयाँ गरी २ अर्ब ८ करोड २५ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामले जनाएको छ ।

त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २४।२४ प्रतिशत बजेट खर्चेको छ । चालुतर्फ २० करोड रुपैयाँ र पुँजीगत तर्फ ९२ करोड ७८ लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ । यस मन्त्रालयले कुल १ अर्ब १२ करोड २४ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोज कुमार झाले बताए ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालुतर्फ १० करोड ७ लाख ५३ हजार  रुपैयाँ र पुँजीगत तर्फ १७ करोड १३ लाख ४१ हजार रुपैयाँ खर्चेको छ ।

२२ Jun २०२१ , ११:२२am
हाम्रो आवाज