नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
राष्ट्रिय कविता महोत्सव शुरु

राष्ट्रिय कविता महोत्सव शुरु

काठमाडौँ, ९ असार । आज प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव, २०७८ आयोजना गरेको छ । कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा आयोजित कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै तत्कालीन राजा महेन्द्र शाह, महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्रष्टा बालचन्द्र शर्मालगायतको पहल र परिकल्पनाका आधारमा प्रतिष्ठानको जन्म भएको स्मरण गर्नुभयो । उहाँले महोत्सवबाट काव्य प्रतिभाको विकास हुँदै आएको जनाउँदै पुरस्कृत कवितालाई प्रकाशन गर्दै जाने बताउनुभयो ।  

प्रतिष्ठानका काव्य विभागका प्रमुख डा हेमनाथ पौडेलले एक महिना अगडिको पूर्व सूचनानुसार प्रतियोगिताका लागि देशविदेशबाट ७६४ कविता प्राप्त भएकामा मूल्याङ्कन समितिले वाचनका लागि ४१ कविका  कविता छनोट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार वाचनका लागि १० प्राप्ताङ्क निर्धारण गरिएको छ । मूल्याङ्कनका लागि डा पौडेलको संयोजकत्मा प्राज्ञसभा सदस्य धु्रव मधिकर्मी र उपप्राध्याक डा विन्दु शर्मा सदस्य रहेको समिति गठन गरिएको छ । पुरस्कृत कविताको नतिजा आजै साँझ सार्वजनिक हुनेछ । आरम्भमा अतिथि कवि डा बेन्जु शर्मा, आरडी प्रभाष चटौत र  बुँद रानाबाट कविता वाचन गरिएको प्रतियोगितामा नेपाल बाहिरबाट आठ नेपाली कविले सहभागिता जनाएका छन् ।

कार्यक्रममा प्रतिष्ठानमा २५ वर्ष सेवा गर्ने १५ कर्मचारीलाई जनही रु ३० हजारसहित पुरस्कार प्रदान गरियो । प्रतिष्ठानले विसं २०२२ देखि विशेष अवस्थामा बाहेक हरेक वर्ष स्थापना दिवस आजकै दिन  कविता महोत्सव आयोजना गर्दै आएको छ । 

२३ Jun २०२१ , १:१२pm
हाम्रो आवाज