नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
शिक्षकलाई बेपत्ता बनाउने सार्वजनिक

शिक्षकलाई बेपत्ता बनाउने सार्वजनिक

म्याग्दी, १० असार (रासस) । बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो । 

असार ७ गते कुश्माबाट पक्राउ परेका बानियाले व्यक्तिगत रिसइबी साँध्न विद्यालयमा आएको अवस्थामा कार्कीलाई आक्रमण, कुटपिट गरी म्याग्दी नदीमा बगाएको बयान दिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । “आरोपीले अचेत अवस्थामै म्याग्दी नदीमा बगाइदिएको प्रारम्भिक बयान दिएका छन”, उहाँले भन्नुभयो, “खोलामा बगाइएको कार्कीको शव भेटिएको छैन ।” आरोपी बानियाँकी श्रीमती विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोतकक्षाकी कर्मचारी हुन् । 

विद्यालयकै छात्रावासमा श्रीमतीसँगै बेपत्ता कार्यमा संलग्न बानियाँसमेत बस्दै आएका थिए । बेपत्ता कार्की र आरोपी बानियाबीच यसअघि विवाद थियो । करिब पाँच वर्ष मलेशिया र केही वर्ष भारतमा रोजगारी गरी केही महिनाअघि घर आएका बानियामाथि अनुसन्धान गर्न प्रहरीले बुधबार म्याग्दी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको छ । 

प्रहरीले घटनाको थप प्रमाण जुटाएर हत्या गरी बेपत्ता बनाएको कसुरमा मुद्दा चलाउने जनाएको छ । कार्कीमाथि आक्रमण भएको ठाउँमा रगत भेटिएको थियो । केही तल म्याग्दी नदी किनारमा कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल सेट भेटिएको थियो । 

२४ Jun २०२१ , ११:३७am
हाम्रो आवाज