नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
‘राष्ट्रिय कविता महोत्सव-२०७८’ का विजयी पाँच कविताहरू

‘राष्ट्रिय कविता महोत्सव-२०७८’ का विजयी पाँच कविताहरू

असार १०, काठमाडौं 

देशको नक्सा : कविता राई (प्रथम)


कवि कविता राई
म कोरिरहेकी छु
देशको सग्लो नक्सा ।

खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र ।

अनायास करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिन्जेल किच्छु, टाल्छु
र मेट्छु धाँजाहरू !

विषाक्त हावा बोकिआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू !

ओ ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन,
भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ !

छामी हेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा

                                                                          डढेलो पछि पनि वसन्त आउँछ : अमृता स्मृति (द्वितीय)

कवि अमृता स्मृति
हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे
मगमगाउँथे हार्दिक भावहरू
झमझमाउँथे प्रेयसीका पाउजु
र घिस्रिरहन्थ्यो बुढो लौरी
आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी
घन्किरहन्थ्यो आदिवासी धुन
ती सबै–सबै कहाँ गए ?
विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रीएको
पिँढीको गुन्द्रि बिर्सिएर
कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?
भोलि यही बाटोमा भेटिएला/नभेटिएला
आमाका पैतालाका डोबहरू !

न कुनै आहत
न कुनै पदचाप
समय आफैँ मलामी आफैँ मुर्दा बनेर लम्पसार छ
ए ! छिरिङ
ए ! खान
चित्र प्रर्दशन गर्न
किलोको आड चाहिए जस्तै
देशलाई चाहिएको छ
हाम्रा पाखुराहरूको आड
हाम्रा चेतनाहरूको आड
मौरीहरू मुर्झाउन नखोज
भर्नै बाँकी छ
यो देशको घारमा महको चमक !

झुल्किन्छ–झुल्किन्छ
हामीले जीवनभर खोजिरहेको उज्यालो घाम
पर्दा बनेको यो कैदी समयमा पनि
तराई, चुरे भावर र पहाडमा
महाभारत, हिमाल र भोटमा
कुन–कुन जातका फुल फक्रिसके होलान् ?
जङ्गलमा डढेलोपछि पनि रुख/विरुवा पलाउँछन् ।
जङ्गलमा डढेलोपछि पनि वसन्त आउँछ ।

                                                                            आमा म आएँ अब : सविता बराल (तृतीय)
शार्दूलविक्रीडित छन्द


हाँस्छन् शैल मनुष्य पल्लवित छन्, बोल्छन् शिला गौरव
इन्द्रेणीमय जात धर्म थरले छर्छन् सुधा सौरभ

यस्तो सृष्टि कला अमूल्य निधिको बोकी महासागर
थोपो खोज्न कतै म जान्न जननी आएँ म आएँ अब

मिठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर
मेरो वैदिक ज्ञान तर्छ जगमा विज्ञानको सागर

रोदी, मादल, घाननाच जितिया वन्धुत्वका रक्षक
गाऔँ गाना सयौँ थुँगासँगसँगै आमा म आएँ अब

टोपी, बक्खु तयार छन् सडकमा नाङ्गा नरोऊन् कतै
किंकर्तव्यविमूढ बन्न नपरोस् भोकाहरूले अझै

यार्चागुम्बु, चिराइतो कलुषता निर्मूल पार्दै सब
बाँच्ने विश्व बचाउने रहरले आऊ म आएँ अब

मेरा पाउ समृद्ध छन् शिर उँचो छाती खुला निर्मल
सीमामा बलभद्रका रगतले गर्दै छु हस्ताक्षर

साझा लक्ष्य विकासको मुलुकमा मेची र कालीसँग
नौला द्वार सुशान्तिका प्रगतिका खोलेर आएँ अब

बोकी माथमा विश्व साथ नउठे के काम यो शैलको
कोशी झैँ अविश्रान्त बग्न नसके के काम यो सैरको

मेरा शैलशिखा सुरम्य सरिता साँचेर राखूँ सब
आफ्नै आँगनमा निचोर्न पसिना आमा म आएँ अब

 
युगीन प्रतिध्वनि : निरञ्जनाकुमारी चन्द (तृतीय)

कवि निरञ्जनाकुमारी चन्द
अणु र परमाणुका
मुटु थर्काउने डाकहरूसँगै
भस्मासुर र भाइरसका पटकपटकका
विश्वयुद्धहरू
र सिमानाका रक्तरञ्जित
कथाहरूले निम्त्याइएका
युगीन त्रासदीहरूमा
अँध्यारो जीवन
पिइदिऔँ घामका लप्काहरू
छाइदिऔँ सितलता सँगालेर
जूनका टुक्राहरू
लाइदिऔँ माला उनेर
गुँरासका थुङ्गाहरू ।

विशाल हृदयहरूको खानी
विश्व भूगोलको एक टुक्रा मेरो देश
धावा दिएर गाउँछ गीत विरताको
र उचालेर चन्द्रसूर्य
म लगाउछुँ सिन्दूर
भुइँको गीत सगरमाथा उचाइको ।

छोडेर विध्वंशको अस्त्रहरू
आत्मज्ञान विस्फोट गराई
कोहिनुर उज्यालामा गरिदिऔँ बीजारोपण
शान्तिको समबोधि आँखाहरूको
विश्व-ब्रहाण्डभर गुँजाएर बुद्धको मन्त्र ध्वनिहरू
उडाइदिऔँ परेवाका सेता जोडीहरू

रोग, भोक, शोक अनेक सन्नाटाहरू मेटाएर
छरिदिऔँ मानवताका बीजहरू
आऊ शरणका पुजारीहरू
पौरखी जिजीविषा फुलाएर
फिँजाइदिऔँ दायित्वका नवरङ्ग आकाशभरी

समृद्धिका आशातीत रङ्गहरू इन्द्रेणीमा
पोतिदिऔँ धर्तीमा
चिहानबाट जुर्मुराएर
बिहानबाट ब्युँझिएर
रोपिदिऔँ समानताका सुन्दर बोटहरू

जीवनका अप्ठ्यारा आँधीहुरीहरूमा
मैदानबाट दौडिँदै
चुचुराबाट गर्जिँदै
खेलिदिऔँ पौठेजोरी
सतिसाल भएर

उठ ए ! झुपडीका ताता मान्छेहरू !
सल्काइदिऔँ चिराग
मुर्छना जगाएर
जाग ए ! किनाराकृत निन्याउरा मान्छेहरू !
बुलन्द गराइदिऔँ दबाइएका आवाज,
पुरिदिऔँ गहिरा खाडलहरू

                                                                  बोधिसत्वको खोप : प्रकाश सिलवाल (तृतीय)

कवि प्रकाश सिलवाल
कुनै जादुगरले
कागजका पानाहरूलाई
चपाई चपाई स्वाट्ट निलेर
ह्वालह्वाल्ती पानी निकाले झैँ
किन चटक हेर्न
विवश छन्
स्वयम्भूका आँखाहरू ?

घरी कर्ममौरीहरूलाई
डकैतीले झैँ घेर्न खोज्छ
घरी आफैँलाई
जिउँदै जलाएको सपना देख्छ
र आफ्नै मलामीको जुलुसलाई
घन्टौँ कर्कश सम्बोधन गर्छ !

यो कस्तो सङ्क्रमण हो
जसले,
लालीगुराँसको सुगन्धमा बाँचिरहेको
डाँफे चरीको
श्वासथैलीलाई
चलमलाउन दिँदैन
प्राणवायु प्रवाह हुने
कोषिकापत्रलाई नै
कुनै समय नेपालको मानचित्रबाट
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई
अलप गराइए झैँ
क्षणभरमै अलप गराइदिनसक्छ
रक्तनलीभित्रको होमोग्लोबिन तत्वलाई
चैतमासको खहरे झैँ सुकाइदिएर
आनन्द लिन चाहन्छ
अशान्ति र पृथकतावादका सूत्रधारहरूलाई
रानीमहलका जोडीले झैँ
असीम प्रेमको आलिङ्गन सुम्पन छोड्दैन !

यतिबेला म
आधुनिक धन्वन्तरी भएर
समृद्धिको धरहरालाई सम्झिएर
एउटा त्यस्तो मेसिन बनाउँदैछु
जसले तुरुन्तै पत्ता लगाउनेछ–
यो भयानक भाइरसका कारण र असरहरू
प्रिय बुद्धभूमिविरुद्धका
घातक कुण्ठा
र तुच्छ स्वार्थका बीजहरू…

सुन !
म एउटा त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
जसले पहिलो मात्रामै
परास्त गर्नेछ–
सगरमाथा हाँस्दा रमाउन नसक्ने
विकृत स्नायुग्रन्थिका तमाम सङ्क्रमणहरू !    

२४ Jun २०२१ , ५:३०pm
हाम्रो आवाज