नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
बर्खा लागेपछि कारागारका कैदीबन्दीको बिजोग

बर्खा लागेपछि कारागारका कैदीबन्दीको बिजोग

महोत्तरी, १७ असार (रासस) । झम्केर पानी पर्नासाथ महोत्तरी कारागारका कैदीबन्दीको बिजोग हुने गरेको छ । पछिल्लो दुई दिनदेखि लगातार परेको पानीसँगै कारागार परिसरमा फोहर थुप्रिएर दुर्गन्ध बढेपछि कैदीबन्दीको बिजोग भएको हो । कारागारको कैदीथुनुवाकक्ष, सुरक्षाकक्षसहितको कारागार परिसरमा बर्खाको भेलले ल्याएको दुर्गन्धित फोहर जताततै देखिन्छ । 

जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर बाहिर निस्कने ढल नबन्दा प्रत्येक वर्ष बर्खामा कैदीबन्दीको बिजोग हुने गरेको छ । खासमा कारागार परिसर बर्सेनि गहिरिदै जाँदा नगरभरिको फोहर यसै परिसरमा थुप्रिएर दुर्गन्धित हुने गरेको कैदीबन्दी बताउँछन् । कारागार परिसर दुर्गन्धित बन्दै जाँदा कैदीबन्दी बिरामी हुने क्रम बाक्लिएको छ । 

“साँघुरो कारागारमा दुवैतर्फ (पुरुष र महिलाका छुट्टाछुट्टै कक्ष) गरी ५८३ कैदीबन्दी छौँ”, पुरुषकक्षका एक कैदीले भन्नुभयो, “जताततै फोहर थुप्रिएर यसको निकास नहुँदा दुर्गन्धले बिरामी हुने क्रम बढेको छ ।” अहिले सघन वर्षा शुरु भएपछि जाताततै दुर्गन्धित फोहर हिलाम्य पानीमा तैरिरहेको अवस्थाले महामारी पर्नसक्ने डर बढेको कैदीबन्दी बताउँछन् । कारागार परिसरबाहिर अग्ला–अग्ला संरचना (घर, सडक) बनिँदा बर्सेनि यो ठाउँ झन्झन् गहिरिँदै गएको छ । पानी निकासका लागि स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) र जलेश्वर नगरपालिकाको बराबर ध्यानाकर्षण गराइए पनि निकासको काम हुन नसकेको कारागार प्रशासनले जनाएको छ । 
   
जम्मा १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले चौब्बरभन्दा बढी ५८३ जना छन् । साँघुरो ठाउँमा कैदीबन्दी थपिदै जाँदा बसाइ व्यवस्थापन सधैँजसो अस्तव्यस्त हुने गरेको कारागार प्रमुख (जेलर) गणेश मिश्रको गुनासो छ । “हामी सम्बद्ध उपल्लो निकायमा ठाउँ छैन, कारागार अस्तव्यस्त छ भन्ने गर्छौं”, मिश्रले भन्नुभयो, “न्यायिक निकायले भने दिनहुँ कैदी र थुनुवा पठाउँछन् , हामी के गरौँ ?”

१ Jul २०२१ , १०:४४am
हाम्रो आवाज