नेपाली समय:

वि.सं २०८१ बैशाख ५   बुधवार

EnglishEN
व्यापार घाटा १२६२ अर्ब ११ करोड पुग्यो, यस्तो छ आयात र निर्यातको अवस्था

व्यापार घाटा १२६२ अर्ब ११ करोड पुग्यो, यस्तो छ आयात र निर्यातको अवस्था

असार ३१, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा वस्तु निर्यात बढेर १२१ अर्ब २५ करोड पुगेको उल्लेख गरिएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकको भनाइ छ । 

यसैगरी आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु आयात २५।७ प्रतिशतले वृद्धि भई रु १३८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २४.६ प्रतिशतले वृद्धि भई रु १२६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।

१५ Jul २०२१ , १२:५९pm
हाम्रो आवाज