नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
सुदूरपश्चिममा ढिलो मनसुन शुरु

सुदूरपश्चिममा ढिलो मनसुन शुरु

सुदूरपश्चिम, ४ साउन (रासस) । सुक्खा मौसमले चिन्तित कैलाली र  कञ्चनपुर जिल्लाका किसान साउन लागेसँगै भएको मनसुनी वर्षाले खुशी भएका छन् । 
 
ती दुई जिल्लामा असार महिनाभरी पर्याप्तमात्रामा वर्षा हुन नसक्दा खडेरीले धान बालीमा प्रतिकूल असर पुगेको जनाउँदै किसान चिन्तित देखिएका थिए । “पर्याप्त पानी नपर्दा धान रोपाइँ गरिएको खेतमा चिरा परेर बाली बिग्रिन लागेको चिन्ता थियो”, धनगढी उपमहानगरपालिका–१३ किसान मोहन पाण्डेयले भन्नुभयो, “साउन लागेसँगै पर्याप्त वर्षा भएपछि अब बाली सप्रिने आसा जगाएको छ ।”  
 
भरपर्दो सिँचाइ सुविधाको अभाव झेल्दै आएका ती जिल्लाका अधिकांश किसान आकासको पानीको भरमा धान रोपाइँ गर्दछन् । पर्याप्त पानी नहुँदा धान खेतमा झारपात उम्रिने र रोग किराको समस्या देखिने चिन्ता तीन दिनयता वर्षा भइरहँदा हटेको किसान अमरबहादुर चौधरीले बताउनुभयो । 
   
नेपालमा मनसुन वर्षेनी जुन १० मा प्रवेश गरेर सेप्टेम्बर २३ सम्म रहने गर्छ । सुदूरपश्चिम प्रदेशमा भने केही दिन ढिलो मनसुन प्रवेश गर्ने गर्दछ । यस वर्ष भने जुन १० गते नै मनसुन प्रवेश गरे पनि पर्याप्त वर्षा हुन नसक्दा प्रदेशका तराईका जिल्लामा असार महिनामा सुक्खा र खडेरीको मौसम देखिएको थियो ।
  
प्रदेशका पहाडी जिल्लामा भने मनसुनी वर्षाको प्रभाव तराईका जिल्लाको तुलनामा केही बढी देखिएको थियो । तराईमा देखिएको सुक्खा मौसमसँगै भएको उखरमाउलो गर्मीले जनजीवन पनि नराम्रोसँग प्रभावित भएको थियो ।
 
अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले यस वर्ष मनसुन समयमै भित्रिएको भए पनि पश्चिमी वायुको प्रभावका कारण कैलाली र कञ्चनपुरलगायतका क्षेत्रमा जुन १० देखिको एक महिनासम्म ठूलो मनसुनी वर्षा हुन नसकेको जनाएको छ । 
 “मनसुन जुन १० मा भित्रिएको भए पनि पश्चिमी वायुको प्रभावका कारण ठूलो वर्षा हुन सकिरहेको थिएन”, कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले भन्नुभयो, “साउन लागेसँगै ठूलो वर्षा भइरहेको छ ।”
 
यस वर्ष गएको जुन १० देखि जुलाई १० सम्मको एक महिनामा जम्मा ३८० मिलिमिटर वर्षाको मापन भएको थियो । जबकी पछिल्लो पाँच दिनमै २९४ दशमलव पाँच मिलिमिटर वर्षा मापन भएको छ । गत वर्षको जुलाई १० सम्म पनि ठूलो वर्षा हुन सकेको थिएन । सुदूरपश्चिम प्रदेशको अत्तरिया, डडेलधुरा र दीपायलमा जल तथा मौसम विज्ञान विभागका फिल्ड कार्यालय सञ्चालनमा छन् ।
      
वर्षेनी जलवायुमा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भइहालेमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने बताइएको छ । यसैगरी बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्र जीवभन्दा शत्रु जीवको समस्या बढी हुने जस्ता समस्या देखिन थालेको छ ।

१९ Jul २०२१ , १२:२७pm
हाम्रो आवाज