नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
हालसम्मकै उच्च वैदेशिक व्यापारमा सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग

हालसम्मकै उच्च वैदेशिक व्यापारमा सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग

साउन १०, काठमाडौँ । नेपालको वैदेशिक व्यापार घाटा नेपालकै वार्षिक बजेटको हाराहारीमा पुगेको छ । अझ आर्थिक वर्ष २०७७र०७८ मा त संशोधित बजेटभन्दा नेपालको वैदेशिक व्यापार बढी देखिएको छ ।  नेपालको वैदेशिक व्यापार १५ खर्ब ३९ अर्ब रुपैयाँको भएको भन्सार विभागको तथ्याङ्कमा छ । यो भनेको अघिल्लो वर्षको तुलनामा झन्डै ३० प्रतिशतले बढी हो । यसमा व्यापार घाटा नै १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । जुन गत वर्षको संशोधित बजेटभन्दा बढी हो ।  नेपालमा  व्यापार घाटा बढ्दै जानुले नेपालको परनिर्भरता पुष्टि गर्ने विज्ञहरूले बताएका छन् । गत आर्थिक वर्ष १४ खर्ब ११ अर्ब रुपैयाँको बराबरको वस्तु तथा सेवा आयात भएको छ भने एक खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । 

आर्थिक वर्ष २०७७र०७८ मा आयात निर्यात इतिहासकै उच्च भएको हो । निर्यातमा समेत वृद्धि भए पनि आयातको तुलनामा भने ज्यादै न्यून निर्यातको अवस्था हो । गत वर्ष निर्यात ४४।४३ प्रतिशतले बढेको छ । कुल निर्यातको झन्डै ५० प्रतिशत निर्यात वनस्पतिजन्य तेलको भएको विभागले भनेको छ । 

भारतसँग ९ खर्ब र चीनसँग २ खर्ब बढीको व्यापार घाटा 

नेपालको सबैभन्दा बढी व्यापार घाटा छिमेकी मुलुक भारत र चीनसँग छ । गत वर्ष नेपालले भारतबाट मात्रै ९ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँ भन्दा बढीको मालवस्तु आयात गरेको छ । नेपालले पनि भारतलाई १ खर्ब बढीको मालवस्तु पठाएको तथ्याङ्कमा देखिन्छ । यस आधारमा हेर्दा भारतसँग नेपालको व्यापार घाटा ८ खर्ब ६५ अर्ब २३ करोड बराबरको  पुगेको छ । 

 यता नेपालको अर्को छिमेकी मुलुक चीनबाट पनि २ खर्ब ३३ अर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ । जबकि यो देशमा नेपालले १ अर्बको मात्र निर्यात गर्न सकेको छ । यस आधारमा यो देशसँग २ खर्ब ३२ अर्ब बढी व्यापार घाटा रहेको छ । 

पेट्रोलियम पदार्थको आयात  २ खर्ब १४ अर्ब ४०९ करोड रुपैयाँ बराबरको भएको छ । स्टिल तथा आइरन १ खर्ब ५३ अर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ । तरकारी मात्र ३८ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी आयात भएको छ । 

भन्सार राजस्व लक्ष्य भन्दा बढी

नेपालको राजस्व भन्सार राजस्वमा निर्भर छ । गत आर्थिक वर्ष सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व पनि  उठायो । भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ उठेको भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले बताए । सो वर्ष ४ खर्ब ४० अर्ब भन्सार राजस्व उठाउने लक्ष्य थियो ।  वस्तु आयातबाट मात्र ४ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । 

१९ देशसँगको व्यापार नाफामा

नेपालले असाध्यै न्यून मात्र आयात तथा निर्यात गर्ने १९ देशसँग भने नेपालको वैदेशिक व्यापार नाफामा छ । 

यमन, त्रिनिदाद, सिरियन अरब रिपब्लिक, सामोअ,  न्यु क्यालेडोनिया,  मोन्टेनेग्रो, मंगोलिया, मौरिसस, माल्दिभ्स, लेबनान, किर्गिजिस्तान, होण्डुरस, फिजि, एस्टोनिया, कंगो, चद, बोस्निया, बाहमास, अर्मेनिया, अंगुलिया लगायतसँगको वैदेशिक व्यापार नाफामा रहेको तथ्याङ्कमा उल्लेख छ । 

२५ Jul २०२१ , १:००pm
हाम्रो आवाज