नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
भरतपुर अस्पतालमा एक वर्षमा ७ जना मेडिकल सुपरिटेण्डेण्ट फेरिए

भरतपुर अस्पतालमा एक वर्षमा ७ जना मेडिकल सुपरिटेण्डेण्ट फेरिए

भदौ १५, काठमाडौं( रासस) । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट  (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।
 
एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाउनुभएको हो । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । अधिकारी अध्यक्ष भएयताको सातौँ मेसु पौडेल भएका हुन् । 
 
विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मङ्सिर ८ गते सरुवा भएसँगै डा. जगन्नाथ तिवारी मेसु भएका थिए । 

त्यसको तीन महिनापछि डा. वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो ।
 
झण्डै दुुई महिनापछि जेठ १३ गते डा रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । 

सरकारले आइतबार प्रा. डा. पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो । मेसु अस्थिर हुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताए । 

यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।
 
यो सङ्घीय अस्पताल हो । छ सय शैय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।

३१ Aug २०२१ , १२:४६pm
हाम्रो आवाज