नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
सङ्खुवासभा हत्याकाण्ड : अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ

सङ्खुवासभा हत्याकाण्ड : अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ

भदौ २२, काठमाडौँ । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । मंगलबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली विमानबाट विराटनगर हुँदै घटनास्थलतर्फ प्रस्थान गरेको हो । 

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार सिआइबीका डिएसपी रुगम कुँवर नेतृत्वको ३ जनाको अनुसन्धान टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो । उनीहरू मंगलबार साँझ ६ बजेसम्ममा घटनास्थल पुग्ने र अनुसन्धान सुरु गर्ने बिसीले बताए । 

सङ्खुवासभाको दक्षिणी भेगमा पर्ने मादी नगरपालिका १, उम्लिङमा सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो । स्थानीय वृद्ध बौद्धमान कार्कीकी श्रीमती पार्वता कार्की (८४ वर्ष), छोरा तेजबहादुर कार्की (५२), बुहारी कमला कार्की (५२), नातिनी बुहारी रञ्जना कार्की(३२), पनाति विपिन कार्की (८) र पनातिनी गोमा कार्की (५) गरी ६ जनाको हत्या भएको थियो । सो घटनाको अनुसन्धानका लागि यसअघि नै जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा, प्रदेश १ प्रहरी कार्यालयबाट समेत अनुसन्धान टोली घटनास्थल पुगिसकेको छ । 

घटनास्थलमा रहेका प्रहरी अधिकारीका अनुसार घटना लुटपाटको उद्देश्यबाट नभएको अनुमान गरिएको छ । घरमा रहेको दराजहरू नफोडिएको तथा सुनका गहनाहरू पनि सुरक्षित नै रहेको कारण घटना लुटपाटको उद्देश्यबाट नभएको प्रहरीको अनुमान छ । यद्यपि थप अनुसन्धानपछि नै घटनाबारे थप जानकारी प्राप्त हुने ती अधिकारीले बताए ।

७ Sep २०२१ , १:१२pm
हाम्रो आवाज