नेपाली समय:

वि.सं २०७८ कार्तिक ८   सोमवार

EnglishEN
स्क्रब टाइफस भएको कसरी थाहा पाउने ?

स्क्रब टाइफस भएको कसरी थाहा पाउने ?


भदौ ३१, काठमाडौँ । ज्वरो आएपछि एक युवा टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा जाँच गर्न आए । उनले ज्वरोसँगै ढाडमा कालो पाप्रो देखिएको पनि चिकित्सकलाई बताए । चिकित्सकले प्रयोगशालामा परीक्षणका लागि पठाउँदा ती युवामा ‘स्क्रब टाइफस’ भएको प्रमाणित भयो ।

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै निपाह भाइरस र स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका वर्षमा पनि यो समयमा प्रकोपकै रूपमा स्क्रब टाइफस देखिएको थियो ।

कोरोना महामारीका कारण स्क्रब टाइफसका बिरामी ओझेलमा पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना सङ्क्रमणको लक्षण र स्क्रब टाइफसको लक्षण एकैखालको हुने भएकाले बिरामी अन्योलमा पर्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन् ।

स्क्रब टाइफस रोगका बिरामी नेपालमा विगत ८ वर्षअघि मात्रै प्रमाणित भएको हो । डा।पुनका अनुसार स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । ओरिनसिया सुसुगामुसी नामक जीवाणुका कारण स्क्रब टाइफस हुन्छ ।

मुसाको रगत चुसेर बाँच्ने सूक्ष्म किरा ‘माइट’ परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्ने उनी बताउँछन् । नेपालमा २०७२ वैशाखको विनाशकारी भूकम्पपछि यो रोग देखिन थालेको हो ।

सन् २०१९ मा आठ महिनाको अवधिमा ५५५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको थियो भने ३ जनाको मृत्यु भएको थियो ।

अघिल्ला तीन वर्षमा स्क्रब टाइफसका कारण १६ जनाको मृत्यु भएको थियो । हाल देशका विभिन्न भागमा स्क्रब टाइफसका बिरामी देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

स्क्रब टाइफसका लक्षण

–स्क्रब टाइफसका बिरामीलाई उच्च ज्वरो आउने ।

–श्वास—प्रश्वासमा समस्या हुने ।

–रुघा लाग्ने ।

–बढी मात्रामा टाउको दुख्ने ।

–शरीर दुख्ने ।

–शरीरमा चिट–चिट पसिना आउने ।

–आँखा हल्का रातो हुने ।

–शरीरका विभिन्न भागहरूमा सानो रातो बिमिरा आएर सुकेपछि कालो दाग वा कालो पाप्रो बस्ने ।

–कान बजेको आवाज आउने ।

–पखाला लाग्ने ।

‘माइट’ परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिने गर्छ ।

स्क्रब टाइफसबाट कसरी बच्नेरु

–खेतबारीमा काम गर्न जाँदा, घर वरिपरिका झाडी सफा गर्दा, मुसाको वासस्थान नजिकै काम गर्दा सावधानी अपनाउनु पर्छ ।

–खेतबारीमा काम गर्दा हातखुट्टा ढाक्ने लामो बाहुले कपडा लगाउनुपर्छ ।

–वनजंगल, झाडीमा घाँस–दाउरा काट्न जाँदा शरीर ढाक्ने कपडासँगै सम्भव भए बुट लगाउने ।

–चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने ।

–मुसाको वासस्थान भए नजिकै तथा खुला चौरमा सकेसम्म नसुत्ने ।

–सम्भव भएसम्म भुईँमा नबस्ने ।

–खाटमा वा अग्लो स्थानमा सुत्ने वा बस्ने गर्नुपर्छ ।

–घरभित्र अन्न भण्डारण गर्दा मुसा नियन्त्रणका लागि उपयुक्त ढङ्गले व्यवस्था गर्ने ।

कोरोना सङ्क्रमितमा ज्वरो आउने, श्वास–प्रश्वासमा समस्या देखिए झैँ स्क्रब टाइफस बिरामीमा ती लक्षण देखिने हुँदा मानिसले रोग लुकाएर राख्न सक्ने सम्भावना रहने सरुवा रोग विशेषज्ञ डा। पुन बताउँछन् ।

समान लक्षण हुने भएकाले कोरोनाको आशङ्कामा अस्पताल नपुगिकन घरमै सावधानी अपनाएर बस्छु भनेर लापरबाही गर्ने हो भने स्क्रब टाइफसका बिरामीको अकालमा ज्यान सक्ने उनको भनाइ छ । समयमै स्क्रब टाइफसको पहिचान गरी उपचार गर्नुपर्ने उनले बताए ।

स्क्रब टाइफस रोग लागेर समयमै उपचार हुन नसकेमा शरीरका कलेजो, फोक्सो, मस्तिष्क लगायतका अङ्गले काम गर्न नसक्ने अवस्था आउन सक्ने डा। पुनले बताए ।

रोगको जीवाणु शरीरका विभिन्न भागमा फैलिएमा शरीरका अङ्गले काम गर्न छाड्ने उनी बताउँछन् । स्क्रब टाइफसका बिरामीमा पनि कोरोना सङ्क्रमितमा देखिने लक्षण तथा अन्य रोगमा जस्तै रुघा लाग्ने, ज्वरो आउने जस्ता साझा लक्षण देखिने हुँदा मानिसहरू झुक्किन सक्ने र यसले कोरोनाको तुलनामा धेरै मानवीय क्षति हुन सक्ने डा। पुन बताउँछन् ।

टेकु अस्पताललाई कोभिड अस्पताल बनाएका कारण स्क्रब टाइफसको शङ्का लागेका बिरामी जाँच गर्न नआएको डा। पुनले बताए । राजधानीका विभिन्न अस्पतालमा छिटपुट रूपमा स्क्रब टाइफसका बिरामी देखा पर्न थालेका छन् । स्क्रब टाइफस रोगको पहिचान समयमै गर्न नसक्दा कोरोना महामारीकै बेला अर्को समस्या देखा पर्न सक्ने उनी बताउँछन् ।

समयमै रोग पत्ता नलागेमा सामान्य उपचारमा निको हुने बिरामी गम्भीर अवस्थामा पुगेर मृत्युसमेत हुन सक्ने भएकाले समयमै अस्पताल गएर परीक्षण गराउन उनको सुझाव छ । स्क्रब टाइफस भएको थाहा नपाएर समयमै उपचार नगरेकै कारण विगतका वर्षमा केही बिरामीको मृत्यु भएको उनको भनाइ छ ।

१६ Sep २०२१ , ११:००am
हाम्रो आवाज