नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN
परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

असाेज ११, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा. एस जयशङ्करबीच आज भेटवार्ता भएको छ । सो अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

“दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजिविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाउनुभयो ।” नियोगले केही बेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मन्त्री डा खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाएको छ । 

आजै मन्त्री डा. खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन दिए । मन्त्री खड्का गैरआवासीय नेपाली सङ्गठनले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गरेको पनि उक्त नियोगले जनाएको छ । 

महासभालाई स्थानीय समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा खड्का नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फर्कने छ । 

 

 

२७ Sep २०२१ , ११:१७am
हाम्रो आवाज