नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
अविरल वर्षाले धानबालीमा क्षति

अविरल वर्षाले धानबालीमा क्षति

दाङ, २ कात्तिक । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् ।

दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ”, दङ्गीशरण गाउँपालिका–३ का ३५ वर्षीय किसान खुशीराम चौधरीले भन्नुभयो । उहाँले थप्नुभयो, “यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन ।  धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो ।” 

पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पु¥याएको किसानले बताएका छन् । तुलसीपुर–६ का  किसान नन्दु चौधरीले आफूहरूका मात्र नभई  धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको  बताउनुभयो । उहाँले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेकोसमेत बताउनुभयो ।

लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । त्यस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ देवीपुरमा काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले बगाएर लगेको स्थानीय पत्रकार अञ्जना चौधरीले जानकारी दिनुभयो । उहाँले आफू पनि दसैँअघि नै धान काट्नका लागि गाउँमा गएको घरपरिवार तथा मजदूरी लगाएर चार दिनसम्म काटेर खेतमा राखेको धान अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको बताउनुभयो । 

जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु¥याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष जिल्लाको कूल ३९ हजार ६०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ ।

ज्ञानकेन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धानको खेती गरेका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धानको खेती गरिएको बताइएको छ ।

१९ Oct २०२१ , १०:३२am
हाम्रो आवाज