नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
लिङ्देनले बोलाएको केन्द्रीय समिति बैठक कमल थापाले बहिस्कार गर्ने

लिङ्देनले बोलाएको केन्द्रीय समिति बैठक कमल थापाले बहिस्कार गर्ने

काठमाडौं, मंसिर २२ । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गर्ने भएका छन् । थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठकमा सहभागी नहुने बताएका हुन् । 

बुधबार राजधानीको सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टीमा निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् । 

उनले पार्टीको चुनावमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको र त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने बताउँदै यही अवस्थामा बैठकमा सहभागी नहुने बताएका हुन् । यद्यपि थापाले आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भने बैठकमा सहभागी हुन निर्देशन दिएका छन् । थापाले बुधबार एक विज्ञप्तिमार्फत राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका थिए । 

निर्मल निवासबाट भएको हस्तक्षेप यो पहिलो घटना नभएको पनि थापाको भनाइ थियो ।  उनले निर्मल निवासमाथि आफूले  चुनाव हारेबापतको आक्रोशमा आरोप नलगाएको पनि बताए थिए ।  ‘ २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा  भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ’, थापाको भनाइ छ, ‘मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।’

तर, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धी आफ्नो र राप्रपाको नै आधारभूत मान्यतामाथि नै गम्भीर आघात भने पुगेको थापाको दावी छ । 

राप्रपाका नवनिर्वाचित केन्द्रीय सदस्य जनकराज पाठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजेका लागि बैठक बोलाएको जानकारी दिए । आज बैठकको एजेण्डा खासै नभएको बताउँदै नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुको परिचयात्मक रहने उनको भनाइ छ  । 
थापाको सहभागिता रहने या नरहने बारे आफूलाई थाहा नभएको बताउँदै उनले बैठकमा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाको सहभागिता रहने रातोपाटीलाई बताए । 

८ Dec २०२१ , ११:५८am
हाम्रो आवाज