नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात

इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात

इलाम, पुस १४ । जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा आज बिहानैदेखि हिमपात सुरु भएको हो । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात भए पनि जिल्लाका अन्य स्थानमा वर्षा भइरहेको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी र गैरीबास तथा इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भइरहेको छ । 

हिमपातले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको क्षेत्रमा समेत गाईवस्तुलाई घाँस लगाउन र बाहिरको काम गर्न समस्या भएको छ सन्दकपुरका मातृका खतिवडाले बताए । उनका अनुसार वर्षासहितको चिसोले घर बाहिरको काम गर्नसमेत समस्या भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाज प्रभावित भएको हो । झरीका कारण सदरमुकामलगायत जिल्लाका मानिसलाई गन्तव्यसम्म पुग्न समेत समस्या भएको छ । 

पर्वतका उच्च पहाडी भेगमा हिमपातले जनजीवन प्रभावित 

यहाँका उच्च पहाडी भेगमा हिमपात भएको छ । आज बिहानैदेखि जिल्लाका विभिन्न भागमा हिमपात भएको हो । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासे, तीन हजार ३०० मिटरको उचाइमा रहेको जलजलाको हम्पाल क्षेत्र, लोप्रे, फलामेडाँडा, डाँडाकमेरे, डहरेदेउराली, दक्षिण पर्वतका चिसापानी र गोल्र्याङको लेकमा हिमपात भएको बताइएको छ । 

हिमपातसँगै निरन्तर वर्षासमेत भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो अत्यधिक मात्रामा बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कृषक भने लाभान्वित बनेका छन् । गहुँ, आलु, तोरी, जौ, फापरलगायत बालीको उत्पादन बढ्ने भन्दै कृषक हर्षित बनेका छन् । 

कुश्मा नगरपालिका वडा नगरपालिका–१४ आर्थर डाँडाखर्कका सञ्जीव गुरुङले पञ्चासे क्षेत्रमा बिहानैदेखि वर्षा र हिमपात भइरहेको जानकारी दिए । पर्वतका उच्च पहाडी क्षेत्रमा हरेक वर्ष हिमपात हुँदै आएको छ । 
 

२९ Dec २०२१ , २:४५pm
हाम्रो आवाज