नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
काठमाडौँमा आजदेखि थप कडाइ, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौँमा आजदेखि थप कडाइ, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं माघ ५ । काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् । मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले सबै धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाएको छ । नयाँ आदेशमा मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको छ । प्रशासनले यो रोक माघ मसान्तसम्म लागू हुने जनाएको छ । यस्तै प्रशासनले माघ १५ सम्म लगाएको सबै प्रकारका भेला, सभा, सम्मेलनको प्रतिबन्ध माघ मसान्तसम्म पुर्याएको छ । आदेशमा भौतिक रुपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जना भन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ । 

यता लामो दुरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गरेर मात्र यात्रा गराउनुपर्ने छ । प्रशासनले सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सिट क्षमता भन्दा बढि यात्रु नराख्न, यात्रुलाई अनिवार्य मास्क अनिवार्य गर्ने,सवारी साधन दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने लगायतका व्यवस्था गर्न आदेश दिएको छ ।

प्रशासन कार्यालयले होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकेको छ । जसमा होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, फेससिल्ड र पञ्जा लगाउनुपर्ने छ । त्यसैगरी होटल तथा रेस्टुरेन्टमा प्रवेश गर्ने सवै सेवाग्राहीले मास्क अनिवार्य गर्नुपर्ने तथा होटल तथा रेष्टुरेन्टले कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्नेछ । 

होटल तथा रेस्टुरेन्टमा कोही मास्क नलगाइ आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई प्रवेश निषेध गर्नुपर्नेछ । त्यसैगरी होटल रेस्टुरेन्टमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र नियमित रूपमा होटल रेस्टुरेन्ट स्यानिटाइज गर्नुपर्नेछ ।

अब माघ ७ गते सार्वजनिक सेवा लिनका लागि पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ । प्रशासनको निर्णयअनुसार अब यी काम गर्दा खोप लगाएको प्रमाण आवश्यक हुनेछ :
१. भौतिक उपस्थिति भई गर्नुपर्ने गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलाप गर्दा ।
२. सार्वजनिक निकायमा सेवा प्राप्त गर्न
३. रङ्गशाला प्रवेश गर्ने
४. होटल र रेस्टुरेन्टमा प्रवेश गर्न

 

 

१९ Jan २०२२ , १०:१७am
हाम्रो आवाज