नेपाली समय:

वि.सं २०८१ बैशाख ५   बुधवार

EnglishEN
तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

दमौली, ४ चैत । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो । 

महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ । तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताउनुभयो । “महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ”, उहाँले भन्नुभयो । त्यसमध्ये दुई थुनुवा र नौ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिनुभयो । 

तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ती महिलालाई पनि महिला बन्दीगृहमै राखिएको अधिकारीले बताउनुभयो । तनहुँमा निर्माण गरिएको महिला बन्दीगृहमा २० जना राख्न मिल्ने क्षमता छ । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ । कारागारको पुरानो कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो । 

कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो । गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुग हुँदा चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो । 
 

१८ Mar २०२२ , १०:१९am
हाम्रो आवाज