नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
चौरमा पठनपाठन

चौरमा पठनपाठन

म्याग्दी, ५ चैत (रासस) । धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले दुईकोठे भवन भत्किएको र चारकोठे अर्को भवन जीर्ण बनेकाले पठनपाठनमा समस्या भएको बताउनुभयो । 

“गत असोजमा कक्षा ६ र ७ को भवनको पर्खाल भत्किएको थियो”, उहाँले भन्नुभयो, “कार्यालय र दुई कक्षाकोठा भएको अर्को भवनको पर्खाल पनि बाङ्गिएकाले जोखिम बढेपछि खुला चौरमा पठनपाठन गराउनुपरेको हो ।” भिरालो पाखो सम्याएर फरकफरक ठाउँमा बनाइएको विद्यालयको भवन र खेलमैदान संरक्षणका लागि निर्माण भएको ग्यावियन पर्खाल पनि भत्किएको छ । भत्कने अवस्थाको जीर्ण भवनमा जोखिम, चौरमा धुलो र गर्मीले सताउने गरेको कक्षा ७ की विद्यार्थी प्रतिक्षा रसाइलीले बताउनुभयो । 

“चर्किएर बाङ्गिएको भवनको पर्खाल कुनबेला भत्किन्छ भन्ने डर छ”, उहाँले भन्नुभयो, “भवनको जोखिमयुक्त अवस्थाले शैक्षिक वातावरणमा असर पुगेको छ, वर्षात् हुँदा पठनपाठन बन्द गर्नुपर्ने अवस्था छ ।” विद्यार्थीका झोला, पुस्तक, कापी भिज्ने गर्छ । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा २३५ विद्यार्थी छन् । यो आधारभूत तहमध्ये गाउँपालिकामा सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या भएको विद्यालय हो । 

गत वर्ष तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा दुईकोठे ट्रस र खानेपानी तथा सरसफाइसहितको छात्रामैत्री शौचालय निर्माण गरिएको थियो । यसबाहेक अन्य चारमध्ये दुई भवन जीर्ण छन् । नयाँ भवन निर्माणका लागि गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइलगायत निकायमा प्रस्ताव गरिएको प्रअ ठाकुरले बताउनुभयो ।

सो विद्यालयको ६–८ तह निजी स्रोतबाट सञ्चालन गरिएको छ । प्रवासबाट आउने लाहुरेलाई स्वागत, विवाह, किरिया, छेवार, गुन्युचोली देखाउने जस्ता संस्कारगत कार्यमा नाचगानका साथै चन्दाबाट निजी स्रोतका शिक्षकको तलब भत्ता जुटाइने गरिएको छ । 

लुलाङका वडाध्यक्ष गमप्रसाद विकले विद्यालय भवन निर्माणका लागि पहल गर्ने बताउनुभयो । “नयाँ भवन निर्माणको आवश्यकता छ”, उहाँले भन्नुभयो, “गाउँपालिकामार्फत भवनको समस्या समाधानका लागि पहल गरेको छु ।” 

१९ Mar २०२२ , ९:१३am
हाम्रो आवाज