नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
प्रहरी मृत्यु प्रकरण लेटाङ : ६ जना पक्राउ

प्रहरी मृत्यु प्रकरण लेटाङ : ६ जना पक्राउ

माेरङ, चैत ७ । मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी आइतबार भएको झडपपछि प्रहरीले प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । ‘प्रहरीले घटनाको अनुसन्धानको लागि ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘शंकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान  प्रक्रिया अगाडि बढाएको छ ।’

मोरङ प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाममा भने गोप्य राखेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए । यस घटनाको छानबिन पनि हुने उनले बताए ।   

२४ वर्षीय प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काशिराज दाहालले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जानकारी दिएका छन् ।
खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । 

भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो । घटनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानीय झडपमा परि घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । एसपी जिसीका बडिगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घाइते भएका छन् ।

घाइते हुनेहरूमा १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगरबाट खटिएका प्रहरी हल्वदार कृष्ण कुमार यादव, उमेश वरही, संगीता प्रसाइ, संजय यादव घाइते भएका छन् । यस्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरी हवल्दार खुबी सावा, प्रहरी जवान जाबुक खड्का, लाल मिश्रा, संजय भुजेल, बिमल धिमाल, दिपक कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लेटाङका चार जना हल्वदार घाइते भएका छन् । जसमा सन्त बहादुर मगर, मिक्वा योङहाङ, शिव कुमार यदाव, रेनुका सोनाम रहेका छन् । यस्तै दिपेश राय, मनिता राई र धुव्रबहादुर कार्की पनि घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । ६ जना उपचारपछि फर्किएका छन् ।

२१ Mar २०२२ , ११:१७am
हाम्रो आवाज