नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
तनहुँमा कृषि गणना गरिँदै

तनहुँमा कृषि गणना गरिँदै

दमौली, १४ चैत । तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ । कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो । 

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्मातालाई सघाउ पु¥याउन कृषिगणना गर्न लागिएको कार्यालय प्रमुख नवराज पोख्रेलले जानकारी दिनुभयो । 

कृषि गणनाका लागि तनहुँमा ६३  गणक परिचालन गरिनेछ । त्यस्तै १६  सुपरिवेक्षक र एक कृषिगणना अधिकृत परिचालन गरिने उहाँले जानकारी दिनुभयो । कृषि गणनामा तथ्याङ्क सङ्कलनको कार्य एउटै समयसीमाभित्र दुई चरणमा सञ्चालन गरिनेछ । गणक तथा सुपरिवेक्षकलाई यही चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म तालिम सञ्चालन गरिनेछ भने २४ गतेसम्म गणक तथा सुपरिवेक्षक नियुक्ति भइसक्नेछन् ।

पहिलो चरणमा गणकद्वारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचीकरण कार्य गरिने उहाँले पोख्रेलले जानकारी दिनुभयो । दोस्रो चरणमा निश्चित तथ्याङ्कीय छनोट विधिबाट सुपरिवेक्षकद्वारा छानिएका कृषक परिवारमा पुगी गणकद्वारा कृषक परिवार प्रश्नावली फारममार्फत कृषकले चलन गरेको जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरणलगायत विविध विषयसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ । 

दोस्रो चरणमा सुपरिवेक्षकबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत छनोटमा परेका गणना क्षेत्र रहेको वडाको भौगोलिक अवस्थिति र सामाजिक आर्थिक अवस्था, सो क्षेत्रमा भएका पूर्वाधार एवं सेवासुविधा र त्यस क्षेत्रमा सञ्चालित विकास कार्यक्रमसम्बन्धी विवरण सङ्कलन गरिने बताइएको छ । 

सोही अवधिमा सुपरिवेक्षकबाट जिल्लामा सञ्चालित संस्थागत कृषि चलनको पूर्णगण्ना गरिने र गणक तथा सुपरिवेक्षकले गर्ने स्थलगत तथ्याङ्क सङ्कलन कार्यको केन्द्र, प्रदेश तथा जिल्ला तहबाट विभिन्न चरणमा सुपरिवेक्षण गरिने कार्यालय प्रमुख पोख्रेलले जानकारी दिनुभयो । 

जिल्लाका सबै स्थानीय तहमा गरी १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको छनोट गरी गणना गरिनेछ । त्यसका लागि भानुमा २०, व्यासमा १८, म्याग्देमा १६, शुक्लागण्डकीमा १८ गणना क्षेत्र तोकिएको छ । त्यस्तै भिमादमा १७, घिरिङमा १५, ऋषिङमा १८, देवघाटमा १६, बन्दीपुरमा १५ र आँबुखैरेनीमा १४ गणना क्षेत्र तोकिएको छ । 

कृषिगणनामा घर परिवारले गरेका कृषिकार्य, संस्थागत कृषिकार्य ९सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायले गरेका कृषिकार्य०, वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलाप समेटिनेछ । घरपरिवारले गरेका कृषि कार्यको तथ्याङ्क सङ्कलन छनोट विधिमा आधारित हुनेछ । 

कृषि गणनामा कृषकले चलन गरेका जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेका जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या र आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गरिनेछ । 

कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहरको व्यवस्थापनजस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिने बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कृषि गणनालाई प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठले गणक घरघरै पुगे नपुगेको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

२८ Mar २०२२ , ११:४१am
हाम्रो आवाज