नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
कोत घर पुनःनिर्माण गरिँदै

कोत घर पुनःनिर्माण गरिँदै

गलकोट, १४ चैत । ऐतिहासिक महत्वको सिगाना कोत घरको पुनःनिर्माण गर्न थालिएको छ । तत्कालीन बाइसे चौबिसे राज्यका पालामा भुरे टाकुरे राजाले राज्य गरेको सिगाना कोतघरलाई पुनःनिर्माण गर्न थालिएको हो ।

बागलुङ नगरपालिका–८ स्थित कोतघरलाई पुरानो शैलीमा पुनःनिर्माण गर्नका लागि गत वर्षनै गुरुयोजना बनाइएको थियो । नेपाल एकीकरण पूर्वराजा रजौटाहरुले स–साना राज्य सञ्चालनको क्रममा सिगानामा समेत राज्य सञ्चालन गरेको ऐतिहासिक तथा पुरातात्विक महत्वको कोत घर संरक्षणका लागि गुरुयोजना बनाएर अघि बढेको बागलुङ –८ सिगानाका वडाध्यक्ष जीतबहादुर जिसीले जानकारी दिनुभयो । 
    
 कोत घर पुनःनिर्माणका क्रममा गत वर्ष केही पर्खालसमेत लगाइएको थियो । पर्खालको जग खन्ने क्रममा पुरातात्विक वस्तु ओखल, इँटा तथा माटाका भाडासमेत फेला परेका छन् ।  यस क्षेत्रमा पहिला राजाको दरबारलगायतका संरचना भएको जमिनमुनि भेट्टिएका पुरातात्विक वस्तुले समेत प्रमाणित गरेका छन् ।   

 बाइसे चौबिसे राज्यका पालामा यहाँ भुरे टाकुरे राजाले सिगाना, रेश, तित्याङ तथा रायडाँडामा आफ्नो राज्य सञ्चालन गर्ने गरेका थिए । अहिले दसँैको अघिल्लो दिन मेला लाग्ने परम्परा भए पनि ऐतिहासिक कोत संरक्षणको अभावमा मासिएको थियो । 

स्थानीयकै सक्रियतामा पुरानो कोत नजिकै छेउमा सानो मन्दिर बनाएर पूजाआजा गर्दै आए पनि पुरानो संरचना संरक्षणको अभावमा एक सय वर्षअघिनै विलय भएको छ तर परम्परागत शैलीमा कोतको पुनःनिर्माण गर्नका लागि प्रारम्भ गरिएको जिसीले बताउनुभयो । “हाम्रो गुरुयोजना रु एक करोड २२ लाखको हो, अहिले बागलुङ नगरपालिकाले ११ लाख बजेट विनियोजन गरेको छ जस्लाई कार्यान्वयन गर्न स्थानीयले ११ लाख खर्चनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अहिले स्थानीयको सहयोग र नगरपालिकाको रकमले पुनःनिर्माणको कार्य अघि बढ्छ अहिले मुख्य कोत मन्दिरमा मात्रै निर्माण हुनेछ, बागलुङ नगरपालिकाले थप रु २० लाख अर्को शीर्षकबाट ठेक्का गर्न थालेको छ ।” जिसीका अनुसार अहिले मुख्य कोतमात्रै पुनःनिर्माण गरिने भए पनि बजेट थप हुँदै गएपछि पुन गुरुयोजनाअनुसार अन्य संरचना निर्माण गरिने छ । गुरुयोजना अनुसार संरचना निर्माण गर्दै जादा पुनःनिर्माणमा सहजता हुने उहाँको भनाइ छ । 

रु एक करोड २२ लाखको गुरुयोजनामा मुख्य मन्दिर, सत्तल, पर्खाल, पदमार्ग, शौचालय र बगैँचा निर्माण गरिने योजना रहेको छ । अहिले पहिलो चरणको स्थानीय साझेदारी योजनाअन्तर्गत सहयोग रकम उठाउन थालिएको छ । कोत पुनःनिर्माणमा स्थानीयको समेत साझेदारी हुने स्थानीय भद्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार झण्डै सात रोपनी जग्गामा फैलिएको कोतको जग्गा संरक्षणसँगै अन्य भौतिक संरचना निर्माणका लागि स्थानीयले समेत साझेदारी गर्नका लागि रकम सहयोग गर्ने भएका छन् । कोत पुनःनिर्माणमा बागलुङ नगरपालिकाले आवश्यक सहयोग गर्ने र थप बजेटका लागि प्रदेश र सङ्घ सरकारलाई पहल गर्ने बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले सिगानाको कोत मन्दिरलाई ऐतिहासिक तथा पुरातात्तिक महत्वको हिसाबले प्राथमिकतामा राखेर पुनःनिर्माण गर्ने बताउनुभयो । 

 उपचारमा सहयोगको अपिल

जिल्लाको बागलुङ–१ का २१ वर्षीय निशान बोहोराको उपचारमा आर्थिक अभाव भएको छ । 

बागलुङ बजारमा फुटबल खेल्ने क्रममा घाइते भएका उनीको घुट्टामा गम्भीर समस्या देखिएर अहिले पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । दुई चरणको शल्यक्रिया सम्पन्न भइसकेको उनीको तेस्रो चरणको  शल्यक्रिया गर्न अर्थ अभाव भएपछि परिवारले सहयोगको याचना गरेको छ । 

निशानकी आमा पूर्णाले छोराको उपचारमा अहिलेसम्म आफन्तको सहयोगमा गरे पनि ते्रसो चरणको शल्यक्रियाको लागि आर्थिक अभाव भएको गुनासो गर्नुभयो । उहाँले देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीलाई सहयोगको अपिल गर्नुभएको छ ।

 “पारिवारिक समस्याका कारण सुरुमा उपचारको कुनै चाँजोपाँचो भएन, बाबुले समेत भनेन्, पछि खुट्टामा घाउ भएपछि सङ्क्रमण फैलियो”, पूर्णाले  भन्नुभयो, “धेरै समस्या आएपछि बागलुङको धौलागिरि अस्पतालमा उपचार गरियो, त्यसपछि अस्पतालले पोखरा पठायो एक महिना भयो चोट लागेको अहिलेसम्म दुई  शल्यक्रिया भएको छ ।”

निशानको गत फागुन १३ गते खुट्टामा चोट लागेको थियो । परिवारले समेत उपचारमा सहयोग गरेपछि निशानकी आमा पूर्णाले केही स्थानीयको सहयोगमा ‘निशान बोहोरा सहयोग अभियान’ सञ्चालन गरिएको र हालसम्म रु ६० हजार सहयोग सङ्कलन भइसकेको छ ।

निशानको उपचारमा अझै रु तीन लाख खर्च लाग्ने परिवारको भनाइ छ । अहिले निशानकी आमा पोखरामा उपचाररत छोरा छोडेर सहयोग सङ्कलन अभियानमा जुट्नुभएको छ । उहाँले छोराका उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । निशानको उपचारमा सहयोग गर्नका लागि  मोबाइल ९८०६१६४४१६ मा सम्पर्क गर्न सकिने छ । 

२८ Mar २०२२ , ११:४४am
हाम्रो आवाज