नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

पर्वत, १५ चैत । झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ । पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन । जनशक्ति, बर्थिङ सेन्टर, गर्भवती जाँचलगायत सेवाका लागि आवश्यक उपकरणसमेत उपलब्ध भए पनि भवन प्रयोगविहीन भएको छ ।

स्थानीयवासीको विरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएका कारण राज्यको करोडौँ रकम बेकामे भएको हो । खाल्टाथरमा निर्मित भवनसहित जमिन भासिने र पहिराले पुर्न थालेपछि स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सेवा सुरु हुन नसकेको हो । साढे एक तलाको नौकोठे भवन करिब तीन रोपनीमा बनेको छ । लामो समयदेखि पुरानो र जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्यचौकी तत्कालीन द्वन्द्वकालीन संरचना निर्माणको सूचीमा निर्माण भएको थियो । 

नयाँ भवन बनेपछि सेवा–सुविधासमेत थप हुने आशामा बसेका स्थानीयवासी सेवा नपाउँदा निराश भएका छन् । निर्माण सकिने समयमा भवनको बाहिरी बरन्डातर्फको भाग सबै भासिएको थियो । पुनःनिर्माण सम्पन्न भएपछि पनि सेवा सुरु हुने गरी कार्यालय सर्न सकेको छैन ।  स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएपछि गाउँका सुत्केरीलाई स्वास्थ्य संस्थामै ल्याउने गरी जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गर्न सकिन्थ्यो ।

तर अहिले भइरहेको साँघुरो छाप्रोमा उपलब्ध उपकरण जडान गरेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसै थन्क्याउनुपरेको स्वास्थ्यचौकीका इन्चार्ज शान्त अधिकारी बताउनुहुन्छ । “बस्ने ठाउँ छैन, ती उपकरण जडान गरेर सेवा विस्तार गर्ने धेरै परको कुरा भयो”, उहाँले भन्नुभयो । बर्थिङ सेन्टरसहित सेवा विस्तार गर्न नयाँ भवनमा सर्ने अवस्था नभएपछि नगरपालिकासँग बजार क्षेत्रमा दुईवटा कोठा माग गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यचौकीमा एक अधिकृतस्तरको सिनियर अहेब, एक स्टाफ नर्स, एक अनमी, दुई पाँचौँ तहका स्वास्थ्य सहयोगी र एक कार्यालय सहयोगी कार्यरत छन् । दुईकोठे छाप्रोबाट सेवा दिनुपर्दा सबै कर्मचारी बस्ने कुर्चीसमेत अट्ने ठाउँ नभएको स्वास्थ्यकर्मीको गुनासो छ ।

विसं २०७४ वैशाखमा भवन निर्माण सुरु भएको थियो । त्यसअघि नै स्थानीयवासीले विरोध जनाएका थिए । धाँजा फाटेको र पहिलेदेखि निरन्तर पहिरो खसिरहेको जमिनमा भवन निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । “हामीले धेरैपटक त्यहाँ हुँदैन भनेका थियौँ”, स्थानीय एकनारायण श्रेष्ठले भन्नुभयो, “उतिबेला कुरा कसैले सुनेनन्, अहिले यो हालत भयो ।” 

तत्कालीन दलीय संयन्त्रका नाममा कांग्रेस, एमाले र माओवादीका स्थानीय नेताले पहिराको जोखिम भएको जग्गा छनोट गर्दा अहिले करोडौँ राज्यकोषको रकम दुरुपयोग भएको भूपेन्द्र पोखरेलले बताउनुभयो । “अलि पल्तिरको डाँडाबारीमा जग्गा हुँदाहुँदै केही व्यक्तिले स्वार्थ पूरा गर्न यहाँ बनाए, हामीले विरोध गरेकै हो”, पोखरेलले भन्नुभयो, “ती व्यक्ति स्वार्थ पूरा भएपछि हराए, अहिले त्यसको मार हामी जनताले भोग्नुपरेको छ ।” 

स्वास्थ्यजस्तो गम्भीर विषयमा खेलवाड हुनु खेदजनक भएको स्थानीयवासीले बताएका छन् । भवन डिभिजन कार्यालय कास्कीमार्फत निर्मित उक्त भवन निर्माण सम्पन्न भएपछि पनि भवन संरक्षणकै लागि अरू लाखौँ रकम खर्चिसकेको छ । एक प्राविधिकका अनुसार उक्त भवन आसपासको जग्गाकै कारण भवन जोगाउन तीनपटकसम्म लागत अनुमान गरी काम भइसकेको छ । भवन भएको स्थानको दुवैतर्फ कच्ची सडक र जमिनको भागसमेत कमजोर हुँदा पहिरो खस्ने र धस्सिने क्रम रोकिएको छैन । 

२९ Mar २०२२ , ११:१६am
हाम्रो आवाज