नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

भरतपुर, जेठ ८ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ र २० को मतगणना जारी रहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुर १९ मा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए । भरतपुरमा २०७४ जेठ १४ गते राति मतपत्र च्यातिएको विषय अझै सेलाएको छैन । 

तत्कालीन अवस्थामा मतपत्र च्यातेको आरोपमा द्रोण सिवाकोटी र मधु न्यौपाने पक्राउ परेका थिए । पछि जिल्ला अदालतले उनीहरुलाई जनही १ लाख धरौटी रकममा रिहा गरेको थियो भने यही प्रकरणले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को पुनः मतदान भएको थियो । 

यो प्रकरण सर्वोच्चमा पुगेपछि अन्तिममा वडा नम्बर १९ मा पुनः मतदान गराउने फैसला भएको थियो भने त्यही अनुसार पुनः मतदान भएर रेनु दाहाल एमालेका देवी ज्ञवालीलाई हराउँदै मेयरमा विजयी भएकी थिइन् । 
अहिले सोही वडासहित वडा नम्बर २० को मतगणना जारी रहेको हो । वडा नम्बर १९ मा कुल ३८४६ मतदातामध्ये २८४७ मत खसेको छ । 

०७४ को निर्वाचनमा माओवादीले धाँधली गरेर चुनाव जितेको आरोप लागेपनि यसपटक दाहालको राम्रो मतान्तर रहेको छ । ५ वर्षको बिचमा उनले जनमत बढाएको मतपरिणामले देखाएको छ । हालसम्म भरतपुर महानगरपालिकामा ९२ हजार ७२८ मतगणना हुँदा रेनुले ७९०७ को मतान्तर बनाएकी छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाहालले ३६ हजार ५३० मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ६२३ मत र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ११५ मत पाएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले भारी मतका साथ अग्रता बनाएका छन् । 

२२ May २०२२ , १:३७pm
हाम्रो आवाज