नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
नागरिक सुरक्षाप्रति संवेदनशील हुन सांसदहरुको माग

नागरिक सुरक्षाप्रति संवेदनशील हुन सांसदहरुको माग

काठमाडौँ, ९ असार । राष्ट्रियसभाका सांसदहरुले नागरिक सुरक्षाप्रति संवेदनशील भएर योजना बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सात मन्त्रालयको विविध शीर्षकमाथिको छलफलमा उहाँहरुले महिला हिंसाको अन्त्य गर्न माग गर्नुभएको छ । सांसदहरुले सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्नेमा जोड दिनुभएको छ । 

बैठकमा सांसद महेशकुमार महराले राज्यले नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल टेलिकमको सेवाको गुणस्तर बढाउनुपर्नेमा उहाँको जोड छ । सांसद गङ्गाकुमारी बेल्वासेले देशभर महिला हिंसाका घटना भइरहेकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो । 

उहाँले १० देखि १८ वर्ष उमेर समूहका बालिकाका लागि शारीरिक सुरक्षासम्बन्धी तालिम दिनुपर्ने बताउनुभयो । उहाँले कैदीबन्दीको घनत्व घटाउनुपर्ने र कारागारलाई सुधार केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।  

सांसद सुमित्रा विसीले राजधानीलगायत सहरी क्षेत्रमा नागरिकले विद्युतको समस्याका कारण वर्षैपिच्छे इन्डक्सन चुलो फेर्नुपर्ने अवस्था रहेको बताउनुभयो । लिफ्ट सिँचाइमा सरकारले एकदेखि पाँच लाखको टुक्रे बजेट छुट्टयाउने गरे पनि त्यो पर्याप्त नभएको बताउनुभयो । 

सांसद् जीतेन्द्रनारायणदेवले आर्थिक आवश्यकताका आधारमा बजेट बनाउनुपर्नेमा जोड दिनुभयो । दुबै सदनमा राजनीति र अर्थतन्त्र बुझ्ने सांसद भएकाले पर्याप्त छलफल हुनुपर्ने उहाँले बताउनुभयो । आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, गृह, रक्षा मन्त्रालय तथा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको थियो । 

मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धमा राष्ट्रियसभामा यही १२ र १३ गते विषयगत मन्त्रीबाट जवाफ दिने अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सदनमा जानकारी गराउनुभएको छ ।

२३ Jun २०२२ , ५:३७pm
हाम्रो आवाज