नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN
प्रदेशसभाको बैठक अनिश्चित

प्रदेशसभाको बैठक अनिश्चित

गोदावरी, १२ असार - आर्थिक ममिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको रु ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेशसभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेशसभाको बैंठक अनिश्चित बन्न पुगेको हो । सत्तारुढ गठबन्धनमा रहेका दल, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको माग गरेपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन । 

प्रदेश सरकारले विचौलियाको प्रभावमा परेर वित्तीय अनुशासनलाई उल्लङ्घन गरी बजेट ल्याएको भन्दै अधिकांश प्रदेशसभा सदस्यले बजेट संशोधनको माग गर्नुभएको थियो । सभामुख अर्जुनबहादुर थापाले सरकारको आग्रहमा ८ असारमा प्रदेशसभाको बैठक बोलाए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधि बजेटविरुद्ध एकजुट भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो । 

बजेटमाथि असन्तुष्टि जनाउँदै आएका सत्तापक्षकै सदस्यहरु मुख्यमन्त्री र अर्थमन्त्रीमाथि दबाब सिर्जना गर्न गठबन्धनका शीर्ष नेतालाई भेट्न काठमाडौँ पुगेपछि बैठक झनै अनिश्चित भएको छ । बहुमत सदस्य प्रदेशबाहिर भएकाले बैठक बस्ने सम्भावना न्यून रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

नेकपा (माओवादी केन्द्र)का सदस्यसमेत बजेट सन्तुलित नभएको भन्दै गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन काठमाडौँ पुगेका नेताहरुले बताएका छन् ।
 

२६ Jun २०२२ , २:५१pm
हाम्रो आवाज