नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्धारा पुष्टि

श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्धारा पुष्टि

कोलम्बो, २७ असार(एएनआई) । श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिने तयारी गर्नु भएको छ । उहाँले राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसक्नु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

आन्दोलनकारीहरुको चर्को दबाबपछि उहाँले राजीनामा दिने तयारी गर्नु भएको हो । उहाँको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नगर्दासम्म निवास कब्जा गरिरहने बताएका छन् । 
राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्ष राष्ट्रपति भवन छोडेर भाग्नुभएको थियो । प्रदर्शनकारीको आक्रोशित भीडले त्यसपछि प्रधानमन्त्री रनिलविक्रमासिंघेको सरकारी निवासमा समेत पुगी आगजनी गरेको थियो ।

सभामुख महिन्दा याप अबेवार्डेनले पनि पत्रकार सम्मेलन गरेर राष्ट्रपति राजापाक्षले यही असार २९ गते राजीनामा दिने जानकारी दिनुभयो । उहाँले यसअघि संसदमा पनि यस बारेमा जानकारी दिनुभएको थियो । 
श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले सभामुखलाई पत्र पठाएपछि मात्र राजीनामा स्वीकृत हुन सक्छ । तर अहिलेसम्म उहाँले राजीनामा बुझाउनु भएको छैन । राष्ट्रपतिले औपचारिक रूपमा पदत्याग गरेको एक साताभित्र सभामुखले राजनीतिक दलहरूले संयुक्त सरकार आह्वान गर्ने व्यवस्था छ । 
प्रदर्शनकारीले प्रधानमन्त्रीले समेत राजीनामा दिनु पर्ने माग गरेकाले प्रधानमन्त्री विक्रमासिङ्घे पनि राजीनामा दिन तयार हुुनु भएको छ ।    

राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्री विक्रमासिङ्घेले बताएपनि राष्ट्रपतिले नै भने यस बारेमा अहिलेसम्म केही बताएको सार्वजनिक भएको छैन । उहाँले आफैले सार्वजनिक रुपमा नभन्दासम्म विश्वास गर्न नसकिने प्रदर्शनकारीको भनाई छ । 

यसअघि आन्दोलनकारीहरुकै दबाबमा तत्कालिन प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिनु भएको थियो । मुलुकको आर्थिक सङ्कटको मुख्य कारण राजापाक्ष दाजु भाइ नै भएको भन्दै दुवै जनाको राजीनामा माग गरिएको छ । चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा केही महिनादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।

विदेशी मुद्रा सञ्चितिको अभावमा श्रीलङ्कामा महिनौँदेखि खाद्यान्न, इन्धन, औषधि लगायतका अत्यावश्यक वस्तुको आयात रोकिएकाले अभाव र मूल्य वृद्धि सृजना भएको छ । 

प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौँ रूपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरूले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो सङ्ख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

११ Jul २०२२ , ४:३८pm
हाम्रो आवाज