नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
सुदूरपश्चिम प्रदेशसभामा बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेशसभामा बजेट बहुमतले पारित

सुदूरपश्चिम, ३० असार । सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेट बहुमतले पारित भएको छ । 

बजेट माथिको छलफल सकिएपछि गए राति ८ः४५ बजे बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो । आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टैरुपमा आव २०७९÷८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७९÷८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । 

यसअघि बजेटको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिनु हुँदै मन्त्री रावलले बजेटका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बजेटका बारेमा प्रदेशसभा सदस्यले गरेको असन्तुष्टिका कारण सदन सञ्चालन अवरुद्ध भइरहँदा बुधबार प्रदेश सरकार र प्रतिपक्षी नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीच लिखित सहमति भएसँगै बजेट माथिको छलफल सुरु भएको थियो । 

सरकारले यही असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट पेस गरेको थियो । बुधबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले डडेलधुरा जिल्ला प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पदबाट राजीनामा दिनुभएकोले नेपालको संविधान र सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम उक्त प्रदेशसभा सदस्य रिक्त रहेको व्यहोरा सदनलाई जानकारी गराउनुभयो । 

नेपाली कांग्रेस पार्टीले कारबाही गरेको अवस्थामा नैतिकताका आधारमा प्रदेशसभा सदस्य पदमा बसिरहन नमिल्ने भनी उहाँले राजीनामा स्वीकृत गराउने व्यवस्था गरिदिन सभामुखसमक्ष यही असार १३ गते राजीनामा पत्र पेस गर्नुभएको थियो । विसं २०७४ मा सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसको तर्फबाट मल्लसहित चार जना निर्वाचित हुनुभएको थियो । मल्लको राजीनामासँगै प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित कांग्रेसका प्रदेशसभामा अब ११ सदस्य छन् ।

१४ Jul २०२२ , १२:३३pm
हाम्रो आवाज