नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
प्रदेश १ प्रहरी कार्यालयद्वारा रु ३९ करोड बढी राजस्व सङ्कलन

प्रदेश १ प्रहरी कार्यालयद्वारा रु ३९ करोड बढी राजस्व सङ्कलन

झापा, ६ साउन । प्रदेश नम्बर १ का १४  जिल्लाका प्रहरी कार्यालयमा दर्ता भएका आठ हजार ५५ मुद्दाबाट रु ३९ करोड २१ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।  

प्रदेश १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थको अवैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी  बनाउन परिचालित कर्मचारी र प्रहरीबाट  सो सङ्कलन भएको हो ।  

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले    आर्थिक वर्ष २०७८÷०७९ मा विभिन्न अपराधसम्बन्धी शीर्षकमा दर्ता भएका सो मुद्दामध्ये तीन हजार १७७ फछ्र्योट भइसकेको जानकारी दिनुभयो । विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसाला भई फरार रहेका एक हजार ७३८ पक्राउ गरी रु आठ करोड सात लाख ४७ हजार ६७५ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

यसैगरी विभिन्न जिल्लामा अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गरी रु ११ करोड ७४ लाख ४६ हजार ९२९ राजस्व सङ्कलन भएको छ । नदीजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने ३७ जना र ६४५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गरी रु ३३ लाख ३१ हजार ५०० राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना मानिस गरी चार हजार ६४८ क्युफिट काठ बरामद गरी रु एक करोड चार लाख ३३ हजार ५३७ राजस्व सङ्कलन भएको छ ।

यसैगरी ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख ६९ हजार ८२३ सवारी साधनलाई कारबाही गरी रु १८ करोड एक लाख ५९ हजार कार्यालयले राजस्व सङ्कलन गरेको छ । सोही अवधिमा प्रहरीले विभिन्न जिल्लाबाट रु आठ लाख १२ हजार ५१५ बोट गाँजा नष्ट गरेको छ । 

प्रदेश प्रहरी कार्यालयले सोही अवधिमा उत्कृष्ट कार्य गर्ने एक हजार ८६४ प्रहरी कर्मचारीलाई पुरस्कृत र प्रहरी आचरणविपरीत कार्य गर्ने ४२८ प्रहरी कर्मचारीलाई बिभागीय कारबाही गरिएको प्रवक्ता राईले बताउनुभयो । 

२२ Jul २०२२ , ५:०४pm
हाम्रो आवाज