नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बढ्न थाले कोरोना सङ्क्रमित

बढ्न थाले कोरोना सङ्क्रमित

वीरेन्द्रनगर, १६ साउन । साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ  । केही महिनायता स्थिर रहेको सङ्क्रमण विस्तारै  बढ्दो क्रममा देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दैनिक  सरदर छ÷सात जनामा कोरोना सङ्क्रमण देखिएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले साउनदेखि दिनप्रतिदिन कोरोना सङ्क्रमित भेटिएको बताउनुभयो । “साउनदेखि प्रत्येक दिनजसो सङ्क्रमित भेटिने गरेका छन्,” उहाँले भन्नुभयो, “पछिल्लो १५ दिनको अवधिमा प्रदेशभर ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी सुर्खेतमा देखिने गरेको छ ।” निर्देशनालयको तथ्याङ्कमा प्रदेशभर ६०भन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

कर्णालीमा अहिले पुष्टि भइरहेकामध्ये अधिकांश सङ्क्रमित सुर्खेतका छन् । यहाँ दुई सातायताको विवरण हेर्दा यहाँ ३३ प्रतिशतभन्दा माथि सङ्क्रमणदर देखिएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमण बढेसँगै एन्टिजेन परीक्षणको दायरा विस्तार गर्न जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरिएको छ ।    सङ्क्रमणदर बढे पनि परीक्षणको दायरा भने बढाइएको छैन । पिसिआर परीक्षणका लागि सुर्खेत नै पुग्नुपर्ने बाध्यता छ । वीरेन्द्रनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पिसिआर विधिबाट परीक्षण भइरहेको छ । 

एन्टिजेन विधिबाट अन्य स्वास्थ्य संस्थाहरूमा पनि परीक्षण गर्ने गरिएको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पताल, जनस्वास्थ्य सेवा कार्यालय र वीरेन्द्रनगर नगरपालिकामा पनि एन्टिजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको बताइएको छ । आइतबारसम्म सुर्खेतमा ३६सक्रिय सङ्क्रमति पुगेका थिए । सङ्क्रमित सबै होम आइसोलेशनमा रहेका छन् । सङ्क्रमणको जोखिम बढ्दै गए पनि सोहीअनुसारको सतर्कता अपनाउनका लगि प्रेरित गर्न  भने सम्बन्धित निकायले ढिलाइ गरेका छन् । 

१ Aug २०२२ , ३:०६pm
हाम्रो आवाज