नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
कार्यविधि नहुँदा सञ्चालन हुन सकेन खुला कारागार

कार्यविधि नहुँदा सञ्चालन हुन सकेन खुला कारागार

राँझा, २० साउन । बाँकेको गनापुरमा दुई वर्षअघि नै खुला कारागारको संरचना तयार भए पनि कार्यविधि नभएका कारण सञ्चालन हुन सकेको छैन । नेपालगञ्ज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा करिब रु एक करोड ७५ लाख लागतमा ३६ कोठे खुला कारागार भवन दुई वर्षअघि निर्माण भइसकेको छ । खुला कारागार परिसरमा एकदशकअघि नै निर्माण भएको साढे दुईतले १८ कोठे प्रशासनिक भवन जीर्ण हुँदै गएको छ । 

खुला कारागारलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भए पनि सञ्चालन कार्यविधि नबनेका कारण कारागार विभागले त्यहाँ कैदी राख्न नसकेको बाँके जिल्ला कारागार प्रमुख जेलर रामकुमार सोनकरले बताउनुभयो । 

उहाँका अनुसार, दुई तिहाइ कैद भुक्तान गरिसकेका र आचरण सुधार भएका कैदीलाई निश्चित शर्तका आधारमा खुला कारागारमा राख्ने अवधारणाअनुसार बाँकेको गनापुरमा खुला कारागार स्थापना गरिएको हो । खुला कारागार सञ्चालन कार्यविधि नबन्दै भौतिक संरचना निर्माण भएका कारण अहिले संरचना बेवारिसे अवस्थामा पुगेका हुन् । खुला कारागार सञ्चालनका लागि सुझाव पठाए पनि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआएको जेलर सोनकरको भनाइ छ । 

खुला कारागारमा कैदी बस्ने ३६ कोठे दुई वटा भवन छन् । दुवै भवनमा कैदीका लागि ६–६ वटा शौचालय छन् । खुला कारागार परिसरमा निर्मित कारागार भवन र प्रशासनिक भवन एकजना चौकीदारको भरमा छोडिएको छ । 

संरचना निर्माण भएको ठाउँमा खुला कारागारको छ बिघा र तत्कालीन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिन छ । उक्त जमिन खुला कारागारमा राखिएका कैदीलाई खेतीका लागि दिने नीति अघि सारिएको थियो । “कैदीले दिनभरि खेतीपातीको काम गर्ने र बेलुकी खुला कारागारमा आएर हाजिरी लगाउने र त्यहीँ बस्ने अवधारणाका साथ खुला कारागार बनाइएको हो”, जेलर सोनकरले भन्नुभयो ।

खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य रहेका छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५६ कैदीबन्दीलाई व्यवस्थापन गर्न समस्या भएको जेलर सोनकरले बताउनुभयो ।

५ Aug २०२२ , ५:२०pm
हाम्रो आवाज