नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
रेणुका साहको मुद्दाको आइतबार सुनुवाइ भएन

रेणुका साहको मुद्दाको आइतबार सुनुवाइ भएन

काठमाडौँ, साउन २२ । न्यायपरिषदद्वारा उच्च अदालतको न्यायाधीशबाट बर्खास्त गरिएकी रेणुका साहले दायर गरेको मुद्दा आइतबार पेशीमा चढेपनि हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश नकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको मुद्दा ‘बेन्च बस्न नभ्याइएको’ भनेर स्थगित भएको हो ।  

सुवेदीको एकल इजलासमा परेका सबै मुद्दा हेरिएन भने संयुक्त इजलास मात्रै बस्यो । बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी उनको मुद्दा आइतबारका लागि पेशी तोकिएकामा सुवेदीको इजलासमा परेको थियो । साहले कामु प्रधानन्यायाधीश, कानुन मन्त्री लगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा न्यायपरिषदको निर्णय असंवैधानिक भएको जिकिर गरिएको छ । 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत साहमाथि शक्तिको आडमा न्यायाधीशमा नियुक्त भएको आरोप छ । २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गरेको थियो । तर, बर्खास्तमा परेकी साहले भने आफूमाथि कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला० ले प्रतिशोध साँधेको आरोप लगाउँदै आएकी छन् । 

सबै प्रक्रिया पुर्याएर नियुक्ति गरिएको साढे तीन वर्षपछि कानूनमन्त्री कोइरालाले आफ्ना पिता एवं पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँगको प्रतिशोध आफूमाथि साँधेको उनको दाबी छ । कानूनमन्त्री कोइराला संविधान र कानूनभन्दा पनि माथि गएर निर्णय गरिरहेको उनको आरोप छ । असार २४ गते बसेको न्यायपरिषद बैठकले साहलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

७ Aug २०२२ , ४:२२pm
हाम्रो आवाज