नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई भेट्दै

लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौँ, साउन २२ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक सकिएको छ । बैठकले चुनावी तालमेलका लागि दलहरूसँग छलफल गर्ने अधिकार लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बानेश्वरस्थित संसद भवनमा बसेको लोसपा संसदीय दलको बैठकमा चुनावी गठबन्धनको विषयमा छलफल भएको थियो । अहिलेसम्म कुनै दलसँग गठबन्धन गर्ने भनि छलफल तय नभएको र छलफल गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष ठाकुरलाई दिएको उक्त पार्टीका सांसद अकवाल मियाँले बताए ।

गठबन्धनको बारेमा छलफल गर्ने जिम्मेवारी पाएका अध्यक्ष ठाकुरले आजै प्रधानमन्त्री देउवासँग भेट्न लागेको सांसद मियाँले जानकारी दिए । बैठकमा सरकारको विषयमा भने कुनै छलफल नभएको बताउँदै उनले सरकारमा जाने विषय १० महिनादेखि चर्चामा भएको तर लोसपा मधेशको मुद्दाका लागि अडानमा रहेकाले सरकारमा नगएको बताए ।

उनले लोसपाको सरकार जाने सम्भावना अझै नटरेको बताउँदै त्यसका लागि सरकारले मधेशका मागहरु पुरा गर्नुपर्ने अडान कायमै रहेको बताए । आफूहरुले राखेको मागका विषयमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग कुरा राख्ने समेत उनले बताए ।

७ Aug २०२२ , ४:२८pm
हाम्रो आवाज