नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
गण्डकी प्रदेशसभा : सूचनाको हकसम्बन्धी विधेयक पारित

गण्डकी प्रदेशसभा : सूचनाको हकसम्बन्धी विधेयक पारित

पोखरा, २७ साउन । गण्डकी प्रदेशसभाको बैठकले सूचनाको हक सम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।  प्रदेशसभाको बिहीबारको बैठकमा  कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।  

सो अवसरमा मन्त्री थापाले उक्त विधेयकले नागरिकलाई सही सूचना प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विज्ञसँग व्यापक छलफल गरेर विधेयक पारित गरिएको र विधेयक अन्य प्रदेशभन्दा उत्कृष्ट बनेको दाबी गर्नुभएको छ । “गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक विज्ञलाई राखेर व्यापक छलफल गरी पारित गरिएको हो । यसमा खोट लगाउने ठाउँ छैन । केही सुझाव आएका छन् । यसलाई आत्मसात् गर्दै अगाडि बढ्न सकिन्छ”, उहाँले भन्नुभयो । 

विद्यायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले प्रदेश नियमावलीअनुसार विधेयक पारित भएको जानकारी दिनुभयो । प्रदेशसभा सदस्य विनोद केसीले सूचनाको हकसम्बन्धि विधेयक प्रभावकारी भएको र विधेयक बनाएर मात्रै नहुने कार्यान्वयन पक्षमासमेत ध्यान दिनुपर्ने आवश्यकतालाई औँल्याउनुभयो ।  

अर्का सदस्य सावित्रा रानाले पनि विधेयकले कार्यान्वयनमा गएमात्र सार्थकता पाउने धारणा राख्नुभयो । विसं २०७८ चैत २० गते प्रदेशसभामा दर्ता भएको सूचना विधेयक २०७८ चैत २३ गते प्रदेशसभामा पेश गरिएको थियो । चैत २५ गते विधायन समितिमा दफाबार छलफलका लागि पठाइएको विधेयक बिहीबार विधायन समितिको प्रतिवेदनसहित पारित भएको हो ।

१२ Aug २०२२ , ५:१७pm
हाम्रो आवाज