नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
महानगरको न्यायिक समितिमा आउने ७२ प्रतिशत मुद्दा घर बहालसम्बन्धी

महानगरको न्यायिक समितिमा आउने ७२ प्रतिशत मुद्दा घर बहालसम्बन्धी

काठमाडौँ, १२ असोज । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा आउने ७२ प्रतिशत उजुरी र मुद्दा घर बहालसँग सम्बन्धित रहेको पाइएको छ । मंगलबार न्यायमा पहुँचसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले यस्तो बताएकी हुन् । 

संघीयतापछि अल्पसङ्ख्यक र सीमान्तकृतका लागि न्यायमा पहुँच सम्बन्धी कार्यक्रममा बोल्दै अहिले न्यायिक समितिमा धेरै उजुरी र मुद्दा परेको भन्दै त्यसमा सबैभन्दा बढी उजुरी घर बहालसँग सम्बन्धित रहेको डंगोलले बताइन् ।  उनले भनिन्, ‘अहिले महानगरको न्यायिक समितिमा धेरै उजुरी र मुद्दाहरु छन् । आज ९मंगलबार० सम्मको तथ्यांकअनुसार कुल मुद्दामध्ये ७२ प्रतिशत मुद्दा घर बहालसँग सम्बन्धित छन् । घर बहालमा लेनदेन गरेपछि आएको विवादको विषय सबैभन्दा बढी छ ।’


१५ प्रतिशत उजुरी साँध संधियारको
त्यसैगरी उपमेयर डंगोलले न्यायिक समितिमा परेका उजुरीमध्ये १५ प्रतिशत उजुरी साँध संधियारको उजुरी रहेको बताइन् । उनले भनिन्, ‘न्यायिक समितिमा आउने १५ प्रतिशत उजुरी साँध संधियारसँग सम्बन्धित छ । कसले कसको जग्गा मिच्यो, कसले पर्खाल मिच्यो आदि विषयमा उजुरीहरू छन् ।’

उपमेयर डंगोलले न्यायिक समितिमा पर्ने उजुरीमध्ये ३ प्रतिशत उजुरी जेष्ठ नागरिकको सम्बन्धमा रहेको बताइन् । छोरा बुहारीले हेंला गरेको, खान लाउन नदिएको, अपमान गरेको, घरबाट निकालेको लागयतका उजुरी पनि महानगरको न्यायिक समितिमा रहेको र त्यो ३ प्रतिशत रहेको डंगोलले बताइन् । बाँकी १० प्रतिशत मुद्दा भने अन्य प्रकृतिका रहेको डंगोलले बताइन् । 

महानगरको न्यायिक समितिले छलफल गराउँदा सकेसम्म मेलमिलापमै लैजान चाहेको डंगोलले बताइन् । तर झगडियाहरु इगोका कारण हार्न तयार हुने तर मेलमिलापमा जान नचाहने गरेको डंगोलले बताइन् ।  उपमेयर डंगोलले पछिल्लो समय साइबर अपराध, ब्ल्याकमेलिङ लगायतका गुनासा र उजुरी लिएर पनि महिलाहरु आउने गरेको बताइन् ।

डंगोलले भनिन्, ‘उपमेयर महिला भएको कारणले हो कि किन हो, महिलाहरु अहिले साइबर भ्वाइलेन्स, ब्ल्याकमेलिङ आदिबाट पीडित भएको भन्दै गुनासो गर्न आउँछन् । तर न्यायिक समितिले त्यो विषय नहेर्ने भएकाले हामी साइबर ब्यूरोमा पठाइदिन्छौँ ।’

२८ Sep २०२२ , ३:५१pm
हाम्रो आवाज