नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
लुम्बिनी प्रदेशसभा बैठक बस्दै

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ, १८ पुस । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो ।

आज दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । 

दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्नुहुनेछ । यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

यो अधिवेशनपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्नेछ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

२ Jan २०२३ , ४:४०pm
हाम्रो आवाज