नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
‘फुड ट्रक’बाट मनग्य आम्दानी

‘फुड ट्रक’बाट मनग्य आम्दानी

टङ्कीसिनवारी, २४ पुस । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी  फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बन्नुभएको छ । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि  ग्रान्डाले प्रोत्साहित गर्नुभयो । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहनुभएको छ ।

विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहनुभएको छ । फुड ट्रक भनेको चार चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो । विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फुड ट्रक चलाउने गरेका छन् । विराटनगरमा यो एकमात्र फुड ट्रक हो । फुड ट्रकबाट दैनिक रु १५ देखि २० हजारसम्मको व्यापार हुने गरेको छ ।

विसं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई जानुभएको थियो । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै  स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गर्नुभयो ।

विसं २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या प¥यो । लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाल्नुभयो । तर ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देख्नुभयो र आफ्ना श्रीमान्लाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गर्नुभयो । 

चार चक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटलको व्यवसाय चलाउनु विदेशमा सामान्य हो । क्याटेरिङमा काम गर्नुभएका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो । ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किन्नुभयो र होटलको आकार दिनुभयो । यसमा उहाँको रु २२ लाख खर्च भयो । गाडीवाला होटलले हाल दैनिक रु २० हजारसम्मको कारोबार गर्ने गरेको छ ।  शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डाले बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको जनाउनुभयो ।  तीन महिनाअघि मात्र नेपाली नागरिकता पाउनुभएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गर्नुहुन्छ भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी गर्नुहुन्छ । 

विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा सूर्यप्रकाश सोनीले आफू फुड ट्रकको नियमित ग्राहक भएको बताउनुभयो । उहाँले फिलिपिन्सकी महिलाको मेहेनत देखेर आफू दङ्ग हुने गरेको बताउनुभयो । विराटनगर–२ की रेणुका श्रेष्ठले गाडीमा पकाएको खाना स्वादिष्ट हुने गरेको तर्क गर्नुभयो । उहाँले फिलिपिन्सबाट आउनुभएकी ग्रान्डाबाट विदेश जान खोज्ने युवायुवतीले धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।  जाँगर भए नेपालमा प्रशस्त आम्दानी गर्न सकिने भन्ने उदाहरण ग्रान्डाले प्रस्तुत गर्नुभएको श्रेष्ठले बताउनुभयो ।

८ Jan २०२३ , ७:४०am
हाम्रो आवाज