नेपाली समय:

वि.सं २०८१ साउन १२   शनिवार

EnglishEN
जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

म्याग्दी, ९ माघ । म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरी निरीक्षक राजन ढकालले मङ्गला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । 

मङ्गला-१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला-२ की २२ वर्षीया विपना कार्की, मङ्गला-१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला-२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ । 

ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । 
 

२३ Jan २०२३ , ३:५७pm
हाम्रो आवाज