नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ, १० माघ । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनुहुने सांसद सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने सांसद रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गर्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । 

    समितिको सदस्यहरुमा अनिता देवी, अमरेशकुमार सिंह, गङ्गाराम चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव र प्रेम सुवाल रहनुभएको छ । त्यस्तै, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही पनि समितिमा हुनुहुन्छ । 

    समितिलाई १५ दिनको समय दिइएको छ । सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफैँले व्यवस्थित गर्न सक्नेछ । समितिका सदस्यहरुले आफूमध्येबाट एकजना सभापति चयन गर्नेछन् भने समितिले आवश्यक देखेमा विशेषज्ञलगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिनसक्नेछ ।

    प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही र अन्य कुरा नियमित गर्न तथा नियमित व्यवस्थापकीय कार्य सम्पादन गर्दा अपनाउनुपर्ने कार्यका लागि नेपालको संविधानअनुरुप प्रतिनिधिसभाको नियमावली मस्यौदा तयार गर्ने र नियमावली पारित गर्नेसम्मका अवस्थामा आइपर्ने सम्पूर्ण कार्यहरु गर्ने जिम्मेवारी छ ।

    यसैबीच प्रतिनिधिसभाका सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सभामुखको अनुपस्थितिमा कृष्णगोपाल श्रेष्ठ र उपसभामुखको अनुपस्थितिमा विमला सुवेदीले बैठक सञ्चालन गर्नुहुने सभामुख देवराज घिमिरेले सदनलाई जानकारी दिनुभयो ।

२४ Jan २०२३ , ३:२६pm
हाम्रो आवाज