नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
कोहलपुरमा ऐलानी जग्गाको नापजाँच

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच

नेपालगञ्ज २५ माघ (रासस) । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच थालेको छ ।  भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई  प्राथमिकतामा  राखेर जग्गाको नापजाँच भइरहेको छ । 

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर–१२, १० लगायत वडामा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने छ । वडा नम्बर–१२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको एक हजार छ सय ८० कित्ता जग्गा छ । 

यसअघि लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर–१ मा मात्रै ऐलानी जग्गाको नापजाँच पूरा भएको थियो । वडा नम्बर–१ मा एक हजार पाँच सय ६६ कित्ता नापजाँच गरिएको थियो । यस्तै वडा नम्बर–२ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको एक हजार सात सय ३० कित्ता नापजाँच गरिएको थियो । 

वडा नम्बर–२ मा मात्रै अहिले एक हजार आठ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । योसँगै वडा नम्बर–२ मा ऐलानी जग्गा नापजाँचको काम  पूरा भएको छ । “भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिन ऐलानी जग्गा नापजाँच तीव्र पारिएको हो”, नगरप्रमुख आचार्यले भन्नुभयो । अबको केही  महिनामा नापजाँच सक्ने गरी काम भइरहेको छ । 

कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक एवम वडा नम्बर–१२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले ऐलानी जग्गा नापजाँचमा २१ अमिनको टोली खटिएको जानकारी दिनुभयो । कोहलपुरबाट नौ, भूमि आयोगबाट छ तथा जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित छ जना खटिएका छन् । 

“जमिन भएका, तर वर्षौंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ”, उहाँले भन्नुभयो । कोहलपुरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार छन् । 

८ Feb २०२३ , १०:०१am
हाम्रो आवाज