नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
सुनवलमा १५ शय्याको अस्पताल बनाईँदै

सुनवलमा १५ शय्याको अस्पताल बनाईँदै

नवलपरासी, १६ फागुन (रासस)। नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । १२औँ नगरसभाले सुनवलको वडा नं ८ र वडा नं ५ मा अस्पताल निर्माण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

नगरप्रमुख विमला अर्यालले दुवै स्थानमा अस्पताल आवश्यक रहेको जनाउँदै बताउनुभयो । सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा जानुपर्ने बाध्यता रहेको थियो ।  उहाँले पाँच वर्षभित्रमा सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

नगरसभाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रको एकीकृत विकास गर्न योजना तर्जुमा गरेको छ ।

 सेफहाउस सञ्चालन, हिंसापीडित कोषको स्थापना, महिला विद्यालय सञ्चालन, बाल संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन गर्ने, प्रत्येक आर्थिक वर्षमा एक नमूना विद्यालय बनाउनेलगायतका योजना नगरसभाले अगाडि सारेको छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी तरकारी, माछा मासु, फलफूल, अन्डा, दूध र तेलहनमा आत्मनिर्भर हुने गरी रणनीति तय गरिएको पनि नगरपालिकाले जनाएको छ ।

यसैगरी सुनवल रिङरोड निर्माण गर्ने, एक हजार किलोमिटर सडक कालोपत्र, चार नयाँ झोलुङ्गे पुल निर्माण, चार सडक पुल र ५० किलोमिटर नयाँ सडक निर्माण गर्ने पनि सुनवलले पाँचवर्षे योजनामा सार्वजनिक गरेको छ । एक नगर एक नमूना बस्ती, फोहरमैला उद्योग, अटोभिलेज निर्माण, एक वडा एक खेलमैदानलगायतका महत्वकांक्षी योजना पनि समेटिएको छ ।

प्रशासनिक भवन निर्माण  

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित प्रतापपुर गाउँपालिकाले आफ्नो नयाँ प्रशासनिक भवन निर्माणका लागि काम अघि बढाएको छ । भाडाको घरमा बस्दै आएकाले यसपटक चालु आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरी आफ्नो प्रशासनिक भवन निर्माणका लागि काम अघि बढाएको हो ।
 
रु १२ करोड बढी लागतमा बन्ने प्रशासनिक भवन निर्माणका लागि करिब नौ कट्ठा जग्गामा भवन निर्माणका लागि बोलपत्र आह्वानसमेत भइसकेको पालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभयो । यसैबीच पालिकाले बेलाटारी स्वास्थ्यचौकी क्षेत्रको जग्गामा प्रशासनिक भवन बनाउन बोलपत्र आह्वान गरी काम अगाडि बढिसकेको छ । अहिले सो क्षेत्रमा रहेको स्वास्थ्यचौकीका पुराना जीर्ण भवन भत्काउने कार्य भइरहेका छ । यसपछि प्रशासनिक भवनको शिलान्यास गरिने जनाइएको छ ।

२८ Feb २०२३ , ७:३३am
हाम्रो आवाज