
विश्वकपको उद्घाटन अघि गोली चल्दा तीन जनाको मृत्यु
साउन ४, काठमाडौँ । न्युजिल्यान्डको अकल्यान्डमा गोली चल्दा तीन जनाको ज्यान गएको छ। अकल्यान्डमा महिला विश्वकप फूटबलको उद्घाटन खेल हुनु केही घण्टाअघि गोली चलेको हो।
घटनामा प्रहरी सहित ६ जना घाइते भएका छन्। गोली प्रहार गर्ने व्यक्तिको भने मृत्यु भएको छ।
प्रधानमन्त्री क्रिस हिपकिन्सले घटनालाई आतंकवादको नजरले नहेरिएको बताएका छन्। घटना कुनै पनि राजनीतिक वा वैचारिक उद्देश्यबाट प्रेरित भएको नदेखिएको पनि उनले बताए। उनले विश्वकप प्रतियोगिता योजना अनुसारै अघि बढ्ने पनि बताए।
गोली चलाउने व्यक्तिले ‘पम्प-एक्शन शटगन’ प्रयोग गरेको प्रधानमन्त्री हिपकिन्सले बताए।
घटना नर्वेको फूटबल टीम बसेको होटल नजिकै भएको हो। अकल्यान्डका मेयर वेन ब्राउनका अनुसार सम्पूर्ण फिफा अधिकारी र फूटबल टीमका सदस्य सकुशल छन्। न्युजिल्यान्डका खेलकुदमन्त्री ग्रान्ट रोबर्टसनले सुरक्षा प्रत्याभूतिका लागि रंगशाला क्षेत्रमा अतिरिक्त प्रहरी समेत खटाउने बताएका छन्।
घटनापछि खेलाडी होटलबाट निस्कन नपाउँदा इटालीको टोलीको अभ्यास भने केही बेर रोकिएको रोयटर्सले जनाएको छ।
यसअघि सन् २०१९ मा न्युजिल्यान्डको क्राइस्टचर्चमा गोली चल्दा ५१ जनाको ज्यान गएको थियो। त्यस यता न्युजिल्यान्डले सेमी-अटोमेटिक लगायतका बन्दुकमा प्रतिबन्ध लगाएको छ।
अन्तर्राष्ट्रिय फूटबलको नियमनकारी संस्था फिफाले मृतकका आफ्न्तप्रति समवेदना प्रकट गरेको छ भने न्युजिल्यान्डका अधिकारीसँग सञ्चारमै रहेको बताएको छ।
महिला विश्वकपको उद्घाटन खेल न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डको इडेन पार्कमा नेपाली समय अनुसार दिउँसो १२:४५ बाट शुरू हुँदै छ। महिला विश्वकपको नवौं संस्करण न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा आयोजना गर्दै छन्।