नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
सुदूरपश्चिममा कांग्रेसबाट भट्ट कानुनमन्त्री बन्दै

सुदूरपश्चिममा कांग्रेसबाट भट्ट कानुनमन्त्री बन्दै

साउन १६, काठमाडौँ । नेपाली कांग्रेसका सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बन्ने भएका छन् । सरकार विस्तारको तयारीमा रहेका मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई कानुनमन्त्री बनाउन लागेका हुन् ।

बैतडी प्रदेशसभा (२) बाट निर्वाचित भट्टलाई कानुनमन्त्री बनाउन लागिएको कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

‘बैतडीका शिवराज भट्टलाई कानुनमन्त्री बनाउने सहमति भएको छ । आज मुख्यमन्त्रीजी काठमाडौँबाट धनगढी जाँदै छन् । सम्भवतः भोलि शपथ हुन्छ होला ,’ सचिवालय स्रोतले भन्यो ।

असार ५ गते बझाङको केदारस्युँमा सवारी दुर्घटनामा हुँदा तत्कालीन कानुनमन्त्री  पृथ्वीबहादुर सिंहको निधन भएको थियो । सिंहको निधनपछि रिक्त उक्त मन्त्रालयको जिम्मेवारी भट्टलाई दिन लागेको छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीलाई १ मन्त्री १ राज्यमन्त्रीसहित सरकारमा सहभागी गराउन लागेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका मुख्यमन्त्रीको टोली र सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच नागरिक उन्मुक्ति पार्टीको मन्त्रालयबारे सहमति जुटेको छ । नाउनले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ । 

नागरिक उन्मुक्ति पार्टीले यसअघि रामेश्वर चौधरीलाई मन्त्री र कैलाश चौधरीलाई राज्यमन्त्री पठाउने तयारी गरेको थियो । प्याकेजमा सहमति नभएपछि नागरिक उन्मुक्ति पार्टीले उनीहरूको शपथको रोकिदिएको थियो । दुई समितिको सभापति र उपसभामुख पनि पाउने भएपछि मंगलबार एक मन्त्री र एक राज्यमन्त्री पठाउन नागरिक उन्मुक्ति पार्टी  सहमत भएको छ ।

१ Aug २०२३ , १:०७pm
हाम्रो आवाज